samajikkhabar.com

काठमाडौं : नेपाल र चीनले मंगलबार संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् ।

नापी विभागले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने जानकारी गराएको हो । यसअघि नेपाल र चीनले आ-आफ्नो टोली पठाएर सगरमाथाको उचाइ मापन गरेको थियो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी गराए ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएको थियो । यसअघि सगरमाथाको उचाइ मापन गरी चिनियाँ टोली फर्किएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै दुबे मुलुकले संयुक्तरुपमा उचाइ घोषणा गर्ने जानकारी गराएकी थिइन् ।

samajikkhabar.com