samajikkhabar.com

काठमाण्डाै : काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा बिहीबारदेखि निषेधाज्ञा सुरु हुँदैछ । तीनवटै जिल्ला प्रशासन कार्यालयले एक हप्ताको लागि निषेधाज्ञा लगाउने निर्णय गरे पनि पछि मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । यो निर्णयसँगै काठमाण्डौका तीनवटै जिल्लामा बिहीबार बिहान ६ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा लाग्नेछ ।

काठमाण्डौमा मात्रै होइन कोरोना संक्रमण बढी भएका अरु जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ । कास्की, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा लगाइएको छ । बर्दिया, बाग्लुङ र कालिकोटमा भने आंशिक निषेधाज्ञा छ । 

बाँकेमा १३ गतेदेखि २० गतेसम्म, कास्कीमा १५ गतेदेखि २१ गतेसम्म, दाङमा १७ गतेदेखि २५ गतेसम्म, कैलाली र पर्सामा १६ गतेदेखि २२ गतेसम्म, रुपन्देहीमा १६ गतेदेखि २९ गतेसम्म, सुर्खेतमा १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाइएको छ । 

बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा १३ गतेदेखि २० गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

यस्तै बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा ७ गतेदेख १७ गतेसम्म र कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. ११ मा १०गतेदेखि १७ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

केन्द्र सरकारले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । यसैअनुसार जिल्ला तहमा निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञामा के के निषेध ?

निषेधाज्ञाको अवधिमा खाद्य सामग्री, औषधि पसल, अत्यावश्यक सवारीसाधनबाहेक अरु सेवा र व्यवसाय बन्द हुनेछन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुन पाउने सरकारले निर्णय गरेको छ । यस्ता कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्र देखाएर ओहोरदोहोर गर्न पाउनेछन् । यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने गाडी पनि चल्न पाउनेछन् । 

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

विवाह, ब्रतबन्धलगायतमा १५ जना सहभागी हुन पाउने र ब्यानरसहित २ वटा गाडी प्रयोग गर्न पाउने तथा त्यसका लागि पासको आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । 

samajikkhabar.com