samajikkhabar.com

काठमाडौं : सत्ता समीकरणका लागि गठबन्धन बनाउनेबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ।

शुक्रबार अपरान्ह करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा चलेको बैठकमा नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी थिए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले पार्टीमा छलफल गर्न समय माग गरेको पत्रकारहरूलाई बताए।

उनकाअनुसार अर्को बैठक छिट्टै बस्नेछ। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने पनि बताएका छन्।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक रूपमा आज पहिलोपटक बैठक भएको हो। 

‘जसपाका नेताहरूले केही समय चाहिन्छ भन्नुभएको छ,’ उनले भने, ‘पार्टीमा छलफल गरेको छैन भन्नुभएको छ। जसपाको बैठक गरी निर्णय गर्न समय माग गर्नुभएको छ। अर्को बैठक बस्ने गरी सहमतिपूर्वक बैठक टुंगिएको छ।’

जसपाले निर्णय गरेपछि नयाँ गठबन्धनबारे प्रक्रिया सुरू हुने शर्माले बताएका छन्।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पुगेका छन्। जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए।

samajikkhabar.com