samajikkhabar.com

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिकताका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झगडा गरिरहेका बेला सर्वाेच्च अदालतले नेकपा नाम खारेज गरिदिएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वाेच्च अदालतले आईतबार फैसला सुनाउँदै खारेज गरेको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आईतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भइसकेको अवस्थामा २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा निवेदक दिइएको थियो ।

निर्वाचन आयोगले नेकपालाई मान्यता दिएपछि आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालत पुगेका थिए । सर्वाेच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै ओली र प्रचण्डको नेकपा नाम खारेज भएको छ ।

samajikkhabar.com