samajikkhabar.com

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको नेकपा (बहुमत)ले आज (माघ २८ गते) काठमाडौंमा बृहत् शक्ति प्रदर्शन गर्दैछ । देशभरबाट कार्यकर्ता काठमाडौं उतारेर बृहत् प्रदर्शनको तयारी गरेको नेकपाले बढीभन्दा बढी सहभागी जुटाउन स्थानीय पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

विरोधसभामा प्रदेश २ का ८ जिल्लाबाट हजारौँको संख्यामा कार्यकर्ता काठमाडौं आएका बताइएको छ । धनुषाबाट मात्रै ६० वटा बसमा कार्यकर्ता ल्याउने तयारी भएको बताइएको छ । मंगलबार जनकपुरमा बसेको कमिटी बैठकले जिल्लाका १८ स्थानीय तहबाट हजारौँको संख्यामा कार्यकर्ता उतार्ने निर्णय गरेको हो । ६० वटा बसमा कार्यकर्ता भरेर हिजै राती धनुषाबाट छुटेको नेकपाले जनाएको छ ।

बाराको विभिन्न लिकाबाट ६५ वटा गाडी र सुमो खचाखच कार्यकर्ताहरुसहित काठमाडौं प्रस्थान गरेको छ । उता सर्लाहीका विभिन्न पालिकाबाट ९० वटा बस, ४० वटा सुमो र १० वटा अन्य सवारी साधनमा गरी झण्डै ३५ सय कार्यकर्ता काठमाडौं हिँडेका बताइएको छ ।

त्यसैगरी सुदूरपश्चिमा प्रदेशबाट पनि नेता–कार्यकर्ताहरु आउँदै गरेको नेकपाले जनाएको छ भने अन्य केही कार्यकर्ता स्वतस्फूर्त रुपमा काठमाडौं हिँडिसकेका छन् । प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाका दुवैपक्ष अहिले शक्ति प्रदर्शनको दौडमा छन् ।

नेकपा (प्रचण्ड–माधव)ले संसद विघटनको विरोधमा प्रदर्शन गरिरहेको छ भने ओलीपक्ष चुनावी तयारीको नाममा प्रदर्शन र आमसभा गरिरहेको छ । दुवैपक्षले प्रदेश २ लाई बढी महत्व दिएको देखिन्छ । ओली समूहले प्रदेश २ केन्द्रित अभियान चलाउन थालेपछि प्रचण्ड–माधव पक्षले पनि प्रदेश २ लाई महत्व दिन थालेको हो ।

samajikkhabar.com