samajikkhabar.com
पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरे वार्तामा बस्न तयार विप्लव

सरकारसँग वार्तामा बस्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पहिलो पटक सकारात्मक देखिएको छ । पश्चिम क्षेत्रमा बसेको भनिएको पार्टीको आठौँ पूर्ण बैठकले इमान्दारसाथ प्रस्तुत भए सरकारसँग वार्तामा बस्न आफूहरु तयार रहेको निर्णय गरेको हो ।

‘विप्लव’ समूहले यसअघि आफूहरुलाई सरकारले वार्ताको लागि औपचारिक आह्वान नै नगरेको बताउँदै आएको थियो । तर अहिले बसेको भनिएको पार्टीको केन्द्रीय समितिको बैठकले षड्यन्त्रपूर्वक नभई इमान्दारिताका साथ वार्तामा बस्ने भए आफूहरु तयार रहेको बताएको हो ।

पछिल्लो समय सरकार ‘विप्लव’ समूहप्रति कडाइका साथ प्रस्तुत हुँदै धमाधम नेता कार्यकर्ता पक्राउ गर्न लागेपछि वार्ताप्रति सकारात्मक बन्न पुगेको हो । गएको ३० गते दाङको राजापुर गाउँपालिका ४ स्थित मरेठाको जंगलबाट बैठक बसिरहेका बेला ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द (वीरजंग) सहित २१ जना नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।

योसँगै ४३ जिल्लाका जिल्ला इन्चार्जसहित १ सय ४८ जना नेतृत्व तहका नेताहरुलाई पनि प्रहरीले विभिन्न समयमा पक्राउ गरिसकेको छ । आफ्ना धेरै जसो नेता कार्यकर्ता पक्राउ पर्न थालेपछि ‘विप्लव’ नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक देखिएको हुनसक्ने सुरक्षा अधिकारीहरु विश्लेषण गर्छन् ।

वार्ताका लागि पहिलो पटक सकारात्मक देखिए पनि ‘विप्लव’ नेतृत्वको नेकपाले शर्त भने पुरानै दोहोर्‍याएको छ । पश्चिम क्षेत्रमा बसेको भनिएको पार्टीको आठौँ पूर्ण बैठकपछि जारी गरिएको १२ बुँदे विज्ञप्तिको ४ नम्बर बुँदामा इमानदारीका साथ सरकारले वार्ताको पहल गरे आफूहरु पनि वार्तामा बस्न तयार रहेको उल्लेख छ ।

तर वार्ता अघि पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई निःशर्त रिहा गर्नु पर्ने शर्त अघि सारेको छ । सरकारले यसअघि वार्ताको नाममा षड्यन्त्र गर्न खोजेकाले वार्ताको वातावरण बन्न नसकेको पनि उसले जनाएको छ ।

samajikkhabar.com