samajikkhabar.com

मानसिक रोग र हाम्रो समाजको सम्बन्ध त्यति सुमधुर भएको देखिएको छैन। हाम्रो मानसिकता विकास हुन सायद अझै समय लाग्नेछ। एक त हामी मानसिक स्वास्थ्यलाई स्वास्थ्यको प्यारामिटरभित्र नै राख्दैनौं। त्यस विषयमा ख्याल राख्यौं भने पनि रोग हो र रोग हुन्छ भन्नेमा खासै विश्वास गर्दैनौं। मैले धेरैपटक सुनेको छु– कसैले आत्महत्या गर्‍यो भन्ने सुनेपछि हामी मानसिक तनाव थियो कि उसलाई भन्नेबारे एकपटक पनि नसोची मात लागेको त्यसलाई भनेर टिप्पणी दिन थाल्छौं। धेरै प्रकारमा हुने यो समस्यालाई हामीले निकै सहज बनाएर एउटा शब्दमा टुंग्याएका छौं। बौलाएको, कसैलाई डिप्रेसन छ ऊ पनि बौलाहा, मुड डिस्अर्डर भए पनि बौलाहा, स्किज्जोफ्रेनिया छ भने पनि बहुला। यति तुच्छ बनाएका छौं, हामीले मानसिक रोगलाई कि यो हाम्रा लागि अस्तित्वहीन छ।

हामीले सोचेजस्तो एक प्रकारको मात्र नभएर मानसिक रोग विभिन्न थरीका हुन्छन् र तीमध्ये प्रायः सुनिरहेको समस्या डिप्रेसन हो। तर जति नै सुनिएको भए पनि खासमा डिप्रेसन भनेको के हो भनेर थोरै मानिसले बुझेको पाइन्छ।

के हो त डिप्रेसन ?
नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले दिएको परिभाषाअनुसार कुनै पनि व्यक्तिलाई दुई हप्तासम्म लगातार निराश हुने, आफूलाई मन पर्ने कुरामा रुचि घट्दै जाने, खुसी नहुने, चाँडै थकित हुने, आत्महत्याका विचार आउने, कोहीसँग पनि बोल्न मन नहुने, यौन चाहना घट्दै जाने तथा निद्रा नपर्नेजस्ता लक्षण देखिन्छन् भने ती व्यक्तिलाई डिप्रेसन हुन सक्छ। सामान्यतः लामो समयसम्म निरन्तर निराश हुने समस्यालाई डिप्रेसन भन्ने बुझिन्छ।

केले गर्दा हुन्छ त डिप्रेसन ?
सामान्यतः वर्तमानमा हाम्रो विगतको निकै भूमिका रहेको हुन्छ। त्यस्तै विगतमा कुनै प्रकारको भौतिक, लैंगिक तथा भावनात्मक दुव्र्यवहारमा परेका मानिसमा डिप्रेसनको सम्भावना धेरै हुने गर्छ। त्यसैगरी आइसोट्रेटिनोइन (डन्डिफोरको औषधि), कोर्टिकोस्टेरोइड्सजस्ता औषधिहरूको सेवन, प्रियजनको वियोग, आफूभित्र वा परिवारसँगको द्वन्द्व, वंशाणुगत, व्यक्तिगत समस्या, गम्भीर रोग र लागूपदार्थ दुरुपयोगले गर्दा पनि डिप्रेसनको सम्भावना बढाउने गर्छ।

भूत, वर्तमान र भविष्यबारेमा सोच्ने शक्तीमा नवजातिका लागि वरदान हो तर आफैंले बुनेको सोचको जालोमा फसेर सहज जिन्दगीलाई कठिन बनाउनु कुनै कला पनि होइन।

माथि भनिएअनुसार डिप्रेसन धेरै सुनिएको शब्द किन पनि हो भने विश्वका ठूला र नाम चलेका थुप्रै मानिस यसको सिकार बनेका छन्। चेस्टर बेनिङटन, म्यार्लिन मोन्रो, रोबिन विलियम्स, कर्ट कोबेइन, यम बुद्ध र अन्य धेरै हस्तीलाई डिप्रेसनले मृत्युशय्यामा सुताएको छ। बाहिरबाट हेर्दा यी चर्चित व्यक्तित्वको जीवनमा केही कुराको कमी देखिने गरेको थिएन। नाम, पैसा, अनगिन्ती दर्शकको माया र सम्मान सबै थियो उनीहरूको पोल्टोमा। त्यति हुँदाहुँदै पनि के कुराको वितृष्णा पैदा भयो होला र उनीहरूले यो जिन्दगीको औंला चटक्क छाडेर गए होलान् ?

पृष्ठभूमि हेर्ने हो भने यी सबै चर्चित व्यक्तित्वलाई डिप्रेसन भएको देखिन्छ र उनीहरूको मृत्युको मुख्य कारण पनि डिप्रेसन नै मानिएको छ। तर हामीले भने डिप्रेसनलाई एकदम हल्का रूपमा लिइराखेका छौं।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २६ करोड ४० लाखभन्दा बढी मानिस डिप्रेसनसँग जुधिरहेका छन्। आत्महत्याको एक प्रमुख कारणका रूपमा परिचित डिप्रेसन पुरुषमा भन्दा महिलामा बढी देखिने गरेको छ। साथै विश्वव्यापी रूपमा अपांगताको मुख्य कारण पनि हो।

अमेरिकामा २०१७ मा भएको ‘नेसनल सर्भे अन ड्रग युज एन्ड हेल्थ’ नामक सर्वेक्षणले देखाएअनुसार १ करोड ७० लाखभन्दा बढी अमेरिकी बयस्कमा आफ्नो जीवनकालमा कम्तीमा एक डिप्रेसिभ–एपिसोड देखिने गर्छ भने तीस लाखभन्दा बढी किशोर किशोरीमा कम्तीमा एक डिप्रेसिभ–एपिसोड देखिने गरेको छ। अमेरिकाजस्तो भरिपूर्ण देखिने मुलुकमा यति धेरै तथ्यांक छ भने हामीजस्तो देश जसका धेरै मानिस मध्यमस्तरको जीवन व्यतीत गर्छौं र जहाँ २३५ भन्दा बढी मानिस गरिबीको रेखामुनि छौं, त्यहाँ मानसिक स्वास्थ्यको स्थिति कस्तो होला ?

सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका लागि १६१४७ जना युवामा गरेको प्रारम्भिक अध्ययनले २७६ जना किशोरकिशोरीमध्ये ११.२५ मा कुनै न कुनै किसिमको मानसिक समस्या देखाएको थियो। त्यसमध्ये पनि ०.७५ मा मेजर डिप्रेसिभ डिसअर्डर देखिएको थियो भने सबैमध्ये ८.७५ मा आत्महत्याका विचार आउने थाहा भएको थियो। त्यसैगरी १३७१ जना १८ वर्षमाथिका युवामा १३.२५ मा कुनै न कुनै किसिमको मानसिक समस्या देखाएको थियो तथा त्यसमध्ये ३.४५ मा मेजर डिप्रेसिभ डिसअर्डर देखिएको थियो।

येल मनोविज्ञान प्रोफेसर स्व. सुसन नोलेन (हएक्समा, पीएचडी, ‘वोमन हु थिंक्स टु मच’ तथा ‘द पावर अफ वेमिन’ की लेखिकाले ‘धेरै सोच्नाले डिप्रेसनलाई ट्रिगर गर्ने बताएकी थिइन्। महिलामा चिन्तन र डिप्रेसनबारे सबैभन्दा पहिले खोज गरेकी उनले हाम्रो दिमागले नकारात्मक कुरामा धेरै ध्यान दिने र पहिलेका नराम्रा घटना, अहिलेका समस्या र पछि हुन सक्ने खराब कुरा बारम्बार सोच्ने र हामीले यही कुरा सम्हाल्न नसक्दा निराश हुने बताएकी थिइन्। पुरुषमा भन्दा महिलामा यो समस्या दोब्बर हुने र उनीहरू धेरै सोच्ने पनि अध्ययनले देखाएको छ। नकारात्मक सोचले निराशा, आशाहीनता तथा दुरुत्साहन बढाउने र आत्मसम्मान र आत्मविश्वास घटाउने गर्छन्, जसले गर्दा तनाव बढ्ने र मानिसहरू आफ्नै सोचको भुमरीमा फस्ने गर्छन्।

सोच्नु गलत होइन र धेरै सोच्नु पनि गलत होइन। भूत, वर्तमान र भविष्यबारेमा सोच्ने शक्तिमा नवजातिका लागि वरदान हो तर आफैंले बुनेको सोचको जालोमा फसेर सहज जिन्दगीलाई कठिन बनाउनु कुनै कला पनि होइन। त्यो जालबाट निस्किन नसक्दा मानिस मानसिक शिथिलताको सिकार बन्दछ; ऊ बुद्धिजालमा फस्छ र जीवन बाँच्न भुल्छ। धेरैपटक हाम्रो जिन्दगीलाई जटिल बनाउने हामी आफैं हुन्छौं। सजिलो जिन्दगी हामीलाई मन पर्दैन। त्यसैले त समस्यालाई बढावा दिनेप्रति हाम्रो दिमाग स्वयं आकर्षित हुन्छ। फेरि हामीले सकारात्मक सोचलाई यति हावी गराएका छौं कि कुनै कुराको नकारात्मक प्रवृत्ति जुन एकदम प्राकृतिक हो। त्यसलाई आत्मसात गर्न हामी निकै कठिन ठान्छौं। यस्तै कुराले हामीमा डिप्रेसनजस्तो समस्या बढेको अन्दाज लगाउन सकिन्छ।

आकलन बढेको हिसाबले हेर्ने हो भने हामीमा बढेको चेतना र समाजमा खुला सोचको फराकिँदै गएको दायरालाई पनि एउटा कारकका रूपमा लिन सकिन्छ। यसले गर्दा मानसिक समस्या भएका खुलेर बाहिर आउने क्रम बढेको छ। यति हुँदाहुँदै पनि हामी नेपालीको नजर बदलिन भने अलि समय लाग्ने देखिन्छ। सरसर्ति हेर्दा नेपाली समाजका हामीमा विभिन्न कुरालाई एउटै दृष्टिकोणले हेर्ने बानी छ। आफूलाई अरूसँग र आफ्नो समस्यालाई अरूको समस्यासँग दाँज्ने बानी पनि हामीमा प्रचुर मात्रामा पाइन्छ, यसैको परिणामस्वरूप समस्यामा परेको मान्छेलाई ढाडस दिन छाडेर हामी उनीहरूको गल्ती केलाउन थाल्छौं। 

आफैंबाट पनि कहिलेकाहीं धेरै आशा राख्दा त्यसले मानसिक तनाव दिने गर्छ।

डिप्रेसनलाई स्वास्थ्यकर्मीको सल्लाह तथ ाआफ्नो मनोबल प्रयोग गरेर जित्न सकिन्छ। आफूले एकदम विश्वास गर्ने साथीसँग कुरा साट्ने, साथीहरूबाट सहयोग लिने, ध्यान गर्ने, नियमित व्यायाम गर्ने, सकारात्मक सोचको विकास गर्न आफ्नो सब–कन्सियस दिमागलाई सक्रिय बनाउने, आफ्नो शरीरको ख्याल राख्ने, मनका कुरा लेख्ने आदि गर्नाले डिप्रेसनका लक्षणमा सुधार आउने बताइन्छ। तर सबैका आफ्नै सिद्धान्त हुन्छ, विचार र प्रक्रिया हुन्छ, हरेक व्यक्ति फरक र विशेष भएकाले आफूलाई कुन कुराले काम गर्छ, त्यो भने व्यक्तिमा भर पर्ने हो। सबैभन्दा महŒवपूर्ण कुरा भने आफूलाई माया गर्न सक्नु हो, आफूलाई माया गर्न सके जगत्लाई माया गर्न सकिन्छ।

समस्या एउटै प्रकारको भए पनि हरेक व्यक्तिको समाधान खोज्ने तरिका र त्यससँग जुध्ने क्षमता फरक हुन्छ भन्ने हामीले बुझ्न जरुरी छ। डिप्रेसन एक रोग हो, यसलाई सामान्य स्थितिका रूपमा मात्र नलिएर अन्य रोगलाई जँचाएजसरी समयमै डाक्टरको सल्लाह तथा सुझाव लिएमा यसलाई सजिलै सम्हाल्न सकिन्छ। दीपा दाहाल

samajikkhabar.com