samajikkhabar.com

भिम उपाध्याय

कुनै पनि दान सानो हुदैन, त्यसैले दानमा यति उति रकम भन्नु महत्व हुदैन।

कसैको करकाप वा अनुरोध वा दबाब वा कुनै स्वार्थ राखेर हैन स्वेच्छाले मनले नै स्विकारेर, मनले मानेर दिने कुरा दान हो। यसमा मनोभावना महत्वको प्रमूख हुन्छ। दान भनेको पाउनेले भन्दा दिनेले आनन्द पाउने हो। त्यसैले कुनै पनि दान सानो हुदैन। दान आफ्नै हितका लागि हो।आर्थिक सहयोग भनेको अरूलाई सहयोग गर्न आर्थिक टेवा दिने हो। यसमा सहयोग राशीको सहयोग दिनेको विशेष महत्व होला, धेरै थोरै भन्ने पनि देखिएला। त्यसैले दान र सहयोग फरक हुन्।

दानमा कुनै करकाप वा अन्य कुनै उद्देश्य हुदैन, स्वयंको आनन्दबाहेक। समाजका लागि पूरा समय र जिवन लगाउने, योगदान दिईरहने,आफ्नोलागि केही नसोच्ने मानिसहरूलाई समाजले नै पाल्नका लागि दान महत्वको संस्कृति हो। शिक्षा, स्वास्थ्य र ज्ञान क्षेत्र दानले चल्ने हाम्रो हजारौँ वर्षको परम्परा हो। यो सबै निशुल्क हुन्छ र त्यसको खर्च समाजले दान मार्फत उपलव्ध गराउने भन्ने सनातनी मान्यता हो। दान दिनेलाई मात्र धनको आनन्द के हो थाहा हुन्छ। जसरी स्वयंसेवा गर्नेलाई आनन्दभूति हुन्छ, जसरी अन्नदान वा रक्तदान गर्नेहरूले मनमा आनन्द महसुस गर्छन्।

अरू सहयोगको पनि आआफ्नो महत्व छ तर दान चैँ विशेष हो। यसमा पाउने भन्दा दिनेको आध्यात्मिकता आनन्द विशेष हुन्छ।विश्वमा सबैभन्दा बढी दान गर्ने जनता भएको मुलुक म्यान्मार हो।

(लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।)

samajikkhabar.com