samajikkhabar.com
jaya sankhar

बालुवाटारमा बैठक लम्बिँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षीलाई ४० मिनेट कुर्नुपरेको छ। नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौंको याक एन्ड यतिमा तय गरिएको थियो जहाँ परराष्ट्रमन्त्री ज्ञवाली जयशंकरको पर्खाईमा थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटका लागि बालुवाटार पुगेका भारतीय विदेश मन्त्री जयशंकर बालुवाटार भेटघाट लम्बिएपछि ढिलागरी याक एन्ड यति पुगेका थिए।

नेपाल भारत संयुक्त आयोगको बैठक तीन बजे सुरु गर्ने भनिए पनि साढे ४ बजेसम्म पनि बैठक सुरु हुन सकेको थिएन।

प्रधानमन्त्री ओलीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरेका जयशंकर बालुवाटारबाट बाहिरिएपछि आफू बस्ने होटल द्वारिकाज् पुगेका थिए। जयशंकर बालुवाटारबाट बत्तिसपुलतीस्थित द्वारिकाज् होटल र त्यहाँबाट दरबारमार्गस्थित याक एन्ड यति होटलसम्म गर्दा परराष्ट्रमन्त्री ज्ञवाली समकक्षी जयशंकरलाई कुर्न बाध्य भएका थिए।

याक एन्ड यतिमा सुरु भएको नेपाल भारत संयुक्त आयोगको बैठक बिहीबारसम्म चल्नेछ। बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ।

संयुक्त आयोग बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक साझेदारी, व्यापार, ऊर्जा, जलस्रोत, संस्कृति, शिक्षा र दुई देशका आपसी हितका विषयमा समीक्षा हुनेछ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

samajikkhabar.com