samajikkhabar.com

विराटनगर : केही दिनदेखिको बाक्लो हुस्सु र चिसो हावासँगै प्रदेश १ को राजधानी विराटनगरलगायत तराईमा शीतलहर सुरु भएको छ। मौसम एक्कासि चिसिएर शीतलहर सुरु भएपछि जनजीवन थप कष्टकर बन्दै गइरहेको छ। चिसो बढेपछि सर्वसाधारण समस्यामा परेका छन्। सामान्य बनिबुतो गरेर जीवनयापन गर्दै आएका, आर्थिक अवस्था कमजोर भएकाहरु, बस्ने घरको उचित व्यवस्थापन हुन नसकेका, सुकुम्बासी, गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका बढी कष्ट झेल्न बाध्य भएका छन्।  

चिसो अत्याधिक हुन थालेपछि समय काट्न सर्वसाधारणलाई सकस परिरहेको छ। विराटनगरमा मंगलबार बिहान वर्षकै सबैभन्दा धेरै चिसो महसुस गरिएको छ। मंगलबार बिहान विराटनगरको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम वर्षकै सबैभन्दा कम रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले बताए। सोमबार विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री र आइतबार १३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। 

मौसममा आएको परिवर्तनसँगै केही दिनदेखि घाम नदेखिँदा चिसो बढेर तापक्रम ओरालो झर्ने क्रममा रहेको देउजाको भनाइ छ। ‘विराटनगरको तापक्रममा दैनिक गिरावट आइरहेको छ’, उनले भने, ‘कम तापक्रमसँगै हुस्सु र चिसो हावाका साथमा एक्कासि चलेको शीतलहरले बढी समस्या हुन थालेको छ।’ उनका अनुसार बाक्लो हुस्सु र कुहिरोसँगै सुरु भएको शीतलहरलाई पश्चिमी वायुको प्रभावले थप बल पुर्‍याएको छ।

हुस्सुका कारण अगाडि राम्ररी देख्ननसक्ने अवस्था भएपछि फक्स लाइट बालेर गाडी कुदाइँदै। 

देउवाले यस्तो अवस्था केहीदिनसम्म कायम रहने अनुमान गरिएका कारण कुनै पनि क्षति हुन नदिन सबैले चिसोबाट बच्ने उपायको खोजी गर्नुपर्ने सुझाव दिएका छन्। पहिलेपहिले पुसबाट सुरु हुने यसखाले चिसो यसवर्ष मंसिर अन्तिमबाटै सुरु भएको उनको भनाइ छ। 

चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गइरहेको र कार्यालयमा सेवाग्राहीको संख्या पनि पातलिन थालेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। सडकमा सवारी साधन पातलिएका छन्। सवारी साधनमा यात्रा गर्ने यात्रुको संख्यामा पनि कमी आएको छ। 

कतिपय ठाउँमा सर्वसाधारण आगो तापेर चिसो भगाउने प्रयास गरिरहेका छन्। चिसोका कारण घरबार बिहीन भएका र जाडोमा न्यानो कपडा किनेर लगाउन नसक्नेहरुको कन्तबिजोग भएको विराटनगर–५ का सत्रुधन मेहताले बताए। ‘केही दिनदेखि घाम देख्न पाइएको छैन,’ उनले भने, ‘एकाबिहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चलेर शीतलहर सुरु भएपछि समस्या झन् जटिल बनेर गएको छ।’ मौसम नखुलेर ठिहीको अनुभव गर्न थाले पनि सर्वसाधारणलाई चिसोबाट बचाउने कुनै कार्यक्रम सञ्चालन हुन नसकिरहेको गुनासो मेहताले बताए। 

केही दिनदेखि घाम देख्न नपाएर चिसो बढिरहेका कारण सर्वसाधारणलाई बचाउन राज्यको ध्यान जान जरुरी रहेको उनको भनाइ छ। सरोकारवालाले चिसोका कारण सबैले कष्ट भोगिरहँदा सरकारी तवरबाट सर्वसाधारणको पक्षमा केही पहल नभएका कारण अवस्था थप जटिल बनेर जानसक्ने बताएका छन्। 
चिसोसँगै केही दिनयता रुघाखोकी, निमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको संख्या अस्पताल र स्वास्थ्य संस्थामा बढेर गएको विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। बिरामीको चाप बढेसँगै अस्पतालमा आकस्मिक कक्षमा शैयाको अभाव हुने अवस्थासमेत आएको उनको भनाइ छ। कोरोना त्रासले अरु बिरामीको प्रभावकारी उपचार हुननसकिरहेका बेला चिसोका कारण थपिएका बिरामीले राम्ररी स्वास्थ्य उपचार पाउन गाह्रो पर्ने जटिल अवस्थाको सिर्जना भएको दासले बताए। 

हुस्सुले चालकलाई सवारी साधन चलाउन पनि गाह्रो हुन थालेको छ। नजिकको दृष्य पनि देख्नसक्ने अवस्था नभएपछि सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गरिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए। उनका अनुसार अगाडिका सवारी साधन र मान्छेले सहजै देखुन् भनेर चालकलाई ‘फक्स लाइट’ बालेर मात्रै सवारी साधन चलाउन आह्वान गरिएको उनको भनाइ छ। 

हुस्सुसँगै मौसममा आएको खरावीका कारण भिटिभिलिटी कम हुँदा दैनिक व्यस्त रहने विराटनगर विमानस्थलमासमेत जहाज अवतरण र उडानमा समस्या थपिएको विमानस्थल प्रमुख उत्सवराज खरेलले जानकारी दिए। ‘चार-पाँच दिनदेखि उडान ढिलो हुने र रद्ध गर्नुपर्ने समस्या कारण हवाई उडान प्रभावित बनिरहेको छ,’ खरेलले भने, ‘प्रत्येक दिन बिहान ८ बजेबाट सुचारु हुनुपर्ने भएमा विमानस्थल सञ्चालनमा कठिनाई हुँदा यात्रुहरुको चाप र उडानको समय व्यवस्थापन गर्न निक्कै मुस्किल परिरहेको छ।’ 

उडान प्रभावित हुँदा यात्रुहरु मारमा परेका छन्। उडान समयमा हुननसक्दा यात्रुले समयमै गन्तव्यमा पुग्न नपाउने र कतिपय उडान रद्ध हुँदा यात्रु फर्कनुपर्ने अवस्था रहेको खरेलको भनाइ छ। जहाजलाई कम्तीमा पनि एक हजार छ सय मिटर भिजिविलिटी आवश्यक पर्ने उनले बताए। तर बाक्लो हुस्सुका कारण आवश्यक भिजिविलिटी नपुग्ने उनको भनाइ छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चिसोबाट सर्वसाधारणलाई बचाउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी भइरहेको जानकारी दिए। चिसोबाट प्रभावितका लागि जिल्लामा गृह मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भएको उनको भनाइ छ। स्थानीय तह, प्रहरी एवं विभिन्न संघ संस्थालाई आआफ्नो तर्फबाट चिसो प्रभावितलाई सहयोग गर्न आग्रह गरिएको उनले बताए। शीतलहरका कारण हुनसक्ने सम्भावित क्षति रोक्न मोरङका सरकारी तथा गैर सरकारी निकायलाई सक्रिय गराउने तयारी भइरहेको प्रजिअ निरौलाको भनाइ छ। 

samajikkhabar.com