samajikkhabar.com

एक दिन दार्शनिक शुकरातकहाँ उनका एक जना शिष्य गए विवाहको अनुमति माग्न।गुरूले अनुमति दिए पछि शिष्यले यौनसम्पर्क गर्ने अनुमती मागे। अनि शुकरातले यौन सम्पर्क गर्ने अनुमति पनि दिए।

अनि गुरु शिष्यमा कुराकानी भयो,
शिष्य: ” जीवनभरमा मैले कति पल्ट समागम गरुँ गुरूजी?”
शुकरात: ” जीवनमा एक पल्ट सेक्स गर्नु।”
शिष्य: ” त्यत्तिले धित नमरे नि ?”
शुकरात: ” वर्षमा एक पल्ट गर न!”
शिष्य: “अझै धित नमरे?”
शुकरात: “महीनामा एक पल्ट गर्नु,ल जाउ !”
शिष्य: ” गुरु अझै धित नमरे के गर्नु?”
शुकरात: ” पन्ध्र दिनमा एक पल्ट रतिराग लिप्त रहनु!”
शिष्य: ” अनि,अझै मन नभरिए नि गुरूजी ?”
शुकरात: ” पहिला आफ्नो लास अट्ने चिहान खन्नु अनि जति गर्न छ गरिरहनु । ल यहाँबाट गइहाल!”

अनि शिष्य हिंडे। तिनै शिष्य हुन् प्लेटो, जसले पाश्चात्य ग्रीक दर्शनको जग दरिलो बनाए। गुरूको यही उपदेशको कारणले उनले श्रृङ्गार रसलाई खासै महत्व दिएनन्। अर्थात नयाँ कुरा खोज्न, महान् बन्न र जीवनमा सफल हुन यौनको परिबन्धबाट मुक्त हुनु पर्ने विचार शुकरातले राखे।

त्यस्तै पूर्वीय सँस्कृतिमा दुई धार छन् यौनका बारेमा :
१) गृहस्थीबाहेक अरूले यौन समागम गर्नै नपाइने कडा नियम छ।जस्तै ब्रह्मचारी,वानप्रस्थी र सन्यासीहरूले यौन त्यागेकैले महान् भए।

२) गृहस्थीले धर्मपूर्वक यौन समागम गर्नुपर्दछ। यहाँ यौन समागमलाई यौन साधनाको रुपमा वर्ण गर्नाले गृहस्थीहरू पनि महान् भए। गीतामा भगवान् श्रीकृष्णले समस्त खराबीहरूको मूल तत्व कामवासना हो भन्नुभएको छ। काम( sexuality ) बाटै क्रोध, लोभ, सम्मोह र पतन शुरू हुन्छ भनी कामको कामना रहित हुन प्रेरणा दिनुभएको छ। मनमा यौनिकता नपलाउनु पनि अचम्म हो भने यसले मनोवृत्ति नै खलबल्याउनु पनि अझै महाअचम्म हो। मनले जानेर, चित्तले खोजेर वा दिलले रोजेर मात्र यौनसम्पर्क हुने होइन यो त एक स्वाभाविक प्रकृया हो। मौका पाउना साथ स्फुरण भइ हाल्छ। मौका नमिले खुम्चिन्छ पनि। वास्तममा यौन सर्प जस्तै हो, मौका मिले डसिहाल्दछ। त्यसैले नित्य सावधान हुन ऋषिमुनिहरूले उद्घोष गरे। भनिन्छ कामले मान्छे अन्धो हुन्छ र त्यही अन्धताले कहिलेकाही मानवीयता र नैतिकताको सीमा पनि भत्काइदिन सक्छ। वास्तवमा यौन वर्षे भेल हो। कति खेर बाढी चल्छ र कति खेर चक्रक्क सुक्छ केही भर हुँदैन।

पूर्वीय सँस्कृतिमा यौनबाट भाग्ने र यौनलाई पूजा गर्ने दुबै विधि छन्। हठयोग,सन्यास मार्ग आदि भाग्ने विधान हुन्। हठमा कति सम्म भने पुरुष जननेन्द्रियमा फलामे मुन्द्रो ठोकेर साङ्ला लगाएर उर्ध्वरेत-साधना(वीर्य माथि खिंच्ने विधि)गर्ने सम्मका विधान छन्। यो साधनाको प्रभावबाट साधकले जमिन छाडेर माथि बस्न सक्छ। त्यस्तै अग्निस्थापनादि कर्ममा लिङ्गयोनी स्थापना गरिएको हुन्छ र योनी पूजाविधान पनि छ। सृष्टिको मुलको रुपमा समन्त्र पूजा गरिन्छ त्यहाँ। आजन्म यौन सम्पर्क नगरेका हनुमान र भीष्म पितामहलाई सनातन सँस्कृतिले अत्युच्च सम्मान गर्दछ।प्रमाण छ कि हनुमानका पसिनाबाट निस्केको वीर्यबाट मकरीलाई गर्भ रह्यो। यति सम्म उर्ध्वरेता थिए उनी। ब्रह्मचारी भएकैले भीष्म पितामहलाई भगवान् श्रीकृष्णले उच्च सम्मान गर्नुहुन्थ्यो। जीवनमा जसको एक बुँद पनि वीर्य गिरेन त्यही हो ब्रह्मचारी(वीर्यधारणं ब्रह्मचर्यम्)। वीर्य गिरे पछि ब्रह्मचर्य खण्डित हुन्छ। नारीको हकमा आजन्म अक्षत योनी(कुमारी व्रती) भइरहनु नै हो ब्रह्मचर्य। तर पुरुषको वीर्यमा प्रवाह र मनमा चञ्चलता हुनुभएन। नारीको पनि रजमा प्रवाह र मनमा चञ्चलता हुनुभएन। साधनाले कामुकता सुकाउनु नै ब्रह्मचर्यको लक्षण हो। ब्रह्मचर्यव्रती पुरुष र नारीको क्रमश: जननेन्द्रिय लुप्त र वक्षस्थल शुष्क हुने कुरा नीलतारा साधना विधिमा लेखिएको छ।

सनातनी परम्परा अनुसार यौन सम्पर्क गर्न धर्म पूर्वक विवाह नै गर्नु पर्दछ। आजन्म आफ्नी विवाहिता पत्नी वा आफ्नो पति बाहेक अन्यसँग शारीरिक सम्पर्क गरेमा सिधै नर्क गइने र त्यस्तालाई तार्न स्वयं महाविष्णु पनि असमर्थ हुने ज्ञानमालाको प्रमाण संझेर आजको सामाजिक अवस्थाको तुलना गर्दा वैकुण्ठ जाने त के स्वर्ग जाने पनि पृथ्वी भरिमा २-४ जना मात्र होलान्। आफ्नो पति वा पत्नी बाहेक अन्त यौन सम्पर्क गर्नेलाई शास्त्रले पातकी(महापापी) भन्दछ।रोगको डर हुने,वीर्य खेर जाने,धन र इज्जत नासिने अनि एउटा कुलको सन्तान अर्को कुलमा जन्मिनाले वर्णसंकर हुन गई जातिधर्म तथा कुलधर्म नासिने र यसले पूर्वीय पवित्र सँस्कार नै लोप हुन गई सनातन मोक्ष क्रम बिग्रिने हुनाले नारीलाई उचित संरक्षणको साथै यौनलाई बडो व्यवस्थित गराएको छ वैदिक परम्पराले।यो महानता नजान्नाले पछिल्लो समयमा हामी अज्ञात अन्धकारमा जाकिंदै छौं।” विवाह न तु विलासार्थं(Marriage is not for romance according to hindu philosophy) को अर्थ अनुसार हाम्रोमा विवाह मात्र धर्म सम्पादनार्थ सन्तान प्राप्तिको कामनाले मात्र गरिन्छ। मस्ती र मजा त ध्यान र समाधिबाट लिइन्छ पूर्वीय सँस्कृतिमा। केवल मलमय सृष्टि मलैबाट हुने भएकोले मात्र त्यो प्रयोजन त्यहाँ छ। नत्र त विवाहको अर्थ हो परमात्मासँगको साक्षात्कारमा सहकार्य र सहयात्रा। त्यसै हुनाले त धर्मपत्नी(धर्म सम्पादन गराउने र पतन हुन नदिने) अर्धाङ्गिनी( आफ्नी आधा अङ्ग), वामाङ्गी( आफ्नी बायाँ अङ्गस्वरुपा), पत्नी(पतन हुनबाट जोगाउने), जाया(सन्तान स्वरुपमा आफैलाई जन्माउने), श्रीमती(लक्ष्मी र बुद्धि स्वरुपा), स्वास्नी(सुवासिनी- मनलाई रमाइदिने गुणहरू स्वरुप वासनाबाट अलंकृता /स्वेन पतिना सह जीवनयात्रां नयति(?) अर्थात आजन्म साथ दिने) को संज्ञा दिन्छ पत्नीलाई हिन्दू सनातन सँस्कृतिले।

संसारका सबै जसो महापुरुषहरू,धर्मका प्रणेताहरू र विशिष्ट चिन्तकहरूले यौनलाई त्यागेका छन्। पूर्वीय निवृत्ति दृष्टिमा यौन परिबन्ध हो,समस्या हो,फसाद हो र बाध्यता हो। जुन परिस्थितिजन्य हुन्छ र भावानुकूल हुन्छ। भावना साधना,तपस्या र त्यागबाट परिशुद्ध हुन्छ र यही परिशुद्धताको प्रतिपलको परिशीलनताबाटै परिस्थिति माथि विजय प्राप्ति गरी पुण्यमय हुन सकिने कुरा पौरस्त्य दृष्टिकोण हो। यौनबाट भाग्ने होइन,भाग्न सकिन्न।किनभने हाम्रो उत्पत्तिको कारण नै यौनसम्पर्क हो। पानीमा बसेर गिलो पनसँग विरोध गर्न सकिन्छ र? पूर्वीय प्रवृत्ति दृष्टिमा यौन पूजा हो, यज्ञ हो र सत्कर्म हो। तन्त्रमा त यौन समागमलाई यज्ञसँग तुलना गरिएको छ। योनीतन्त्रम्, लिङ्गतन्त्रम्, बीजतन्त्रम् र रज-मातृका तन्त्रम् मा यसको विशद वर्णन पाइन्छ। घोर रज साधनामा त,

योन्यां मनस्थिरं कृत्वा जपेत् मन्त्रं निरन्तरम्।
ध्यायेन् कृष्णमुखां नित्यं लेलिहाना मुखाम्वुजै।।

आलोड्य साध्यप्रमाण: विचार्य च पुन: पुन:।
श्रीगुरो चरणेस्थित्वा योनीं सम्पूजयेत् तथा।।

योनीं स्पृशन् मुखे पश्यन् कामभावं त्यजेत् सुधि।
अविच्छिन्नं जपन् मन्त्रं करोतु योनिसाधनम् ।।

सम्मका साधना छन्। जुन अचेल अचम्म र असंभव मान्न थालि सके। कुरा बुझ्नेहरूले बुझ्लान्।

यौनलाई शक्तिको श्रोत र कर्मको चरमावस्था तथा समाधीको प्रथमचरण मान्ने मात्र हैन पुरुषजननेन्द्रियलाई सुरो,नारीजननेन्द्रियलाई अग्निकुण्ड र वीर्यलाई आहुती(चरू) ,पति पत्नी बीचमा हुने रति सम्मत वार्तालाई वेदमन्त्रको रुपमा तुलना गरी पति पत्नी बीच हुने उचित धर्मपूर्वकको यौन सम्पर्कलाई प्रजापत्य यागको रुपमा चित्रण गरिएको छ। पूर्वीय दृष्टिमा वीर्य या त धर्मपत्नीमा आधान स्वरुप दान गर्नु पर्दछ या त धारण गर्नुपर्दछ।धारण पनि ब्रह्मचर्य हो भने सधर्म आधान पनि ब्रह्मचर्य नै हो।

वीर्यपातं महापापं ब्रह्महत्यासमस्मृतम्।
ऋतुकाले समुत्पन्ने स्वपत्न्यांस्थापयेत् बुध:।।

वीर्यं सदा रक्षणीयं कदापि न च पातनम्।
पातनात्तु भवेत् पापी रक्षणाच्च महावलि।।

यस्तै प्रमाण छन् तन्त्रादि शास्त्रमा। अकारण वीर्य पतन पनि जीवहत्या, ब्रह्महत्या समान बताएको प्रमाण मैले दिएँ।यो गृहस्थीहरूको हकमा हो। उमेर पुगे पछि बाबा, आमा आदि मान्यजनको निर्देशनमा ग्रहगुणादि मिलाएर आचरण र विचार मिल्ने दुई वर र वधु मन्त्रबाट र यौन समागमबाट एक जिउ बन्ने ऋषिपरम्परा निर्दिष्ट कर्म नै विवाह हो, यौनसमागम र यौन साधना हो, मानवीय अस्तित्व र सृष्टिचक्रको नियमितताको लागि अपरिहार्य भएकोले यो महान् कर्म हो। पृथ्वीमा जन्मेर पनि जसमा यौनसवलता छैन ती महापापी हुन् भन्ने मत ऋषि वात्सायनको छ।रक्तवंश, मातृवंश, मन्त्र परम्परा र अँधेरो-पधेरो बारेर दाजुभाइ, छरछिमेकी, गाउँघरको प्रत्यक्ष स्वीकारमा गरिने विवाहले हिन्दू समाजमा परिवार सँस्था बलियो भएको र गराएको छ र यही महान् परम्पराको कारणले टिकेको छ सनातन वैदिक परम पवित्र धर्म पनि।

अब आश्रमा बस्ने, गृहत्यागी, सन्यासी, ब्रह्मचारी र वानप्रस्थीले यौन पूर्णत: त्याग्नु पर्दछ। यौनाचारी व्यक्ति पीठाधीश, मठाधीश, गृहत्यागी सन्त, विरक्त, स्वामी वा सन्यासजनित पद, जिम्मेवारी वा मानमा बस्न नपाइने शास्त्रीय व्यवस्था छ। वैष्णव सिद्धान्तानुसार पनि गृहस्थी वा यौन सुख भोगी व्यक्ति मठ प्रमुख,पीठाधीश आदि हुन पाईंदैन। गृहस्थी वैष्णवले वानप्रस्थी, ब्रह्मचारी वा कैवल्यमार्गी आदि कुनै पनि वैष्णवलाई आफ्ना चरण छुवाउन र दीक्षा दिन पाईंद‌न। शैव मार्गमा पनि आश्रम प्रमुख, मठ प्रमुख हुन वीर्यधारी र आवाल अखण्ड ब्रह्मचारी हुनु पर्दछ। प्रमुख चार जगद्गुरू शाङ्कर पीठमा प्रमुख हुन कट्टर दण्डी सन्यासी, आवाल अखण्ड ब्रह्मचारी र ब्राह्मण वर्गोत्पन्न हुनै पर्दछ। अरू वर्गमा गन्धर्वादि विवाहको चलन चले पनि ब्राह्मण वर्गले पक्का ब्राह्म विवाह (अक्षतकन्या सँग विवाह)गर्लान् भन्ने विश्वासमा यो नियम राखिएको हो। यौन सम्पर्क गरेको खण्डमा अरू जनमानसलाई थाहा भए पनि नभए पनि ती साधु, सन्त, विरक्त, वैष्णव स्वत: पतित हुन्छन्। यौन समागमका त के कुरा स्त्रीजाति देखेर कामस्मरण भए मात्र पनि व्रत खण्डित हुने भएकोले साधु सन्यासीहरूलाई गृहस्थका घर भित्र जान पनि मनाही गरेको छ शास्त्रले। अखण्ड ब्रह्मचर्यमा बस्ने व्यक्ति कदापि रोगी हुँदैनन्, विमारी हुँदैनन्, थाक्दैनन्। जसको वीर्य चुहुन्छ उसैको जिउ खल्किन्छ। जसको वीर्य जम्छ वा माथि खिचिन्छ ऊ भीमपराक्रमी बन्दछ। अब स्वामी महाराज, ब्रह्मचारीहरूले यो कुरा ध्यान पूर्वक हृदयङ्गम गर्नु पर्ला। जनै वा कमण्डलु साक्षी राखेर तामा, तुलसी, शालग्राम छोएर मैले नारीलाई पाप मनले छोए-हेरेकै छैन भन्ने सन्त र आफ्नी पत्नी बाहेक अरूलाई छोएकै छैन भन्न सक्ने दम हरेक गृहस्थी पुरुष र अझ विशेष पण्डित, ब्राह्मण, पुराणवाचकमा हुनुपर्छ र बल्ल सत्य सनातन ज्योति चहकिन्छ। हाम्रा प्रत्येक हिन्दू नारीहरू आफ्नो कुमारी व्रत र पतिव्रता धर्मले यति उर्जस्वत बनुन् कि स्वयं भगवान् उनका पाउको धुलो आफ्ना शिरमा लगाउन र उनका गर्भबाट जन्मिन लालायित होउन्। गफले र ढाँटढुँटले यहाँ चल्छ तर परत्र बित्रिन्छ।त्यति सजिलो छैन।राजा विश्वामित्रले ब्रह्मर्षि हुन दशहजार वर्ष सम्म सुकेमा पात, हावा र जल खाएर तपस्या गरे तर स्वर्गाङ्गना उर्वसी देख्ना साथ वीर्य प्रवाहित भयो र फेरि ब्रह्माजीसँग माफी मागेर चारहजार वर्ष तपस्या थपी वशिष्ठ र ब्रह्माजीबाट ब्रह्मर्षि पद पाए। अब यो कलिमा रबडी, पुरि, खिर, हलुवा खाँदै, जटा पालेर मेहन्दी दल्दै, फेसियल र सेन्टले जगमाउँदै, हेयरस्टेट गरेको कपाल र आइरन गरेको दाह्री हल्लाउँदै हिडेर कति सम्म ब्रह्मचर्यमा रहन सकिएला — कुरा सोचनीय छ। त्यसैले पालन गर्न कठीन हुनाले कलिमा सन्यास लिन वर्जित गरेको छ शास्त्रमा।

चाणक्यले पुरुषमा भन्दा नारीमा आठ गुणा कामवासना हुने भएकोले नारीमा उद्वेलित भयानक काम-हुरीको अगाडि पुरुषको यौनिक पुरुषार्थ बच्चाको धुलेबारी हो भन्छन्। तर सक्रीय पुरुष हुनु पर्ने प्राकृतिकताको न्यायले ब्रह्मचर्यादि नियममा पनि पुरुषहरू नै रहन आदेश दिएको छ शास्त्रमा। नारीलाई पूर्ण पतिव्रता र पुरुषलाई पूर्ण पत्नीव्रती रहन पनि आदेश दिइएको छ, सनातन वैदिक शास्त्रमा । पृथ्वीमा पुरुष भन्दा नारीको संङ्ख्या लगभग दोब्बर र २५% ले यसै बढि हुने भएकोले बाध्यात्मक स्थितिमा पुरुषले वहुविवाह (पत्नी रोगिएमा,सन्तान नभएमा,पत्नी व्यभिचारिणी ठहरिएमा) गर्न सक्छ तर यसको निम्ति माता, पिता, पत्नी र उनका माइती अनि गुरूको अनुमति अनिवार्य गरिएको छ। पति आचरणहीन, व्यभिचारी, परनारीगामी भएको प्रमाणित भएमा पत्नीले पति सँग ओछ्यान बार्न सक्छे तर यो अवस्थामा घर पत्नीकै अधिकारमा रहन्छ। पति कुल गोत्रबाट पर्गेलिन सक्छ। विवाह हुँदा साथ पती वा सासु ,ससुराको सम्पतिमा नववधुको स्वत: हक लाग्ने हिन्दू धार्मिक नियम छ। तर विवाहिता चेलीले माइतीको संपतिमा हक लगाउनाले माइतीसँग सम्बन्ध बिग्रिई घरमा हेपिन र एक्लिन पर्ने खतरालाई ध्यानमा राख्दै बिहे पछि माइतीमा छोरीको हक वाला नरहने र यदि दाजु भाइ नभएको खण्डमा मात्र छोरी वा छोरीको छोरा ( दौहित्र) को हक लाग्ने व्यवस्था छ सनातन परम्परामा। छोरीका छोराले पनि मामा नभएको हकमा पिण्डाधिकार, दायाधिकार र राज्याधिकार पाउँछ। यसै हुनाले कम्तिमा एक सपिण्डी सकेमा त्यो मावली हाँगामा पनि विवाह नगर्ने चलन छ। साथै सम्पति र सन्तान छोड्नु पर्ने बाध्यता हुने, यौनशोषणमा पर्ने खतरा हुने, समाजमा यौन दुराचार र अव्यवस्था बढ्ने खतरा भएकोले र सन्तान प्राप्ति पछि अन्ध यौनबाढी नारीमा नरहनाले पनि वहुविवाह वा पुनर्विवाहको अधिकार नारीलाई दिइएको छैन। यो नारी दमन हैन नारीत्वको संरक्षण र मातृत्वको सम्मान हो।

पूर्वीय सँस्कृतिमा यौनलाई जति मसिनो अध्ययन र सूक्ष्म व्यवस्थापन गरिएको छ विश्वका अन्य सँस्कृतिमा त्यसको लेस पनि भेटिंदैन।वर्तमानमा अन्य छाडा, वर्णसंकर र विधर्मी जाती र देशको अन्धानुकरणले सनातनी हिन्दू समाज विरुप बन्दै छ। परिवार परम्परा नासिनाले समाज छाडा र पश्वाचारयुक्त बन्दै छ। गोत्रपरम्परा तोडिनाले नश्लीय समस्या देखिन थालेका छन्। छोडपत्र,लिभिङ टुगेदर र गर्भपतनको महामारीले समाजमा यौनदुराचार बढी सामाजिक आधार खल्बलिनुको साथै र नारीको स्वास्थ्य पनि खतरामा पर्दै छ। विष्णुमति र वाग्मतीमा बेवारिसे नावालकहरू अर्धमृतावस्थामा भेटिन थालेका छन्। कसको स्वास्नी वा पोइ को र कसको ससुराली कुन भन्ने होलाकि भन्ने जग्जगी बढेको छ। जारी तिर्ने, भातपानी काढ्ने जस्ता सामाजिक सजाएँ हट्नाले यौन दुष्कर्म गर्न झन् खुकुलो भएको छ। सरकारको अव्यवहारिक “वलात्कार”को परिभाषाले बाध्यतावश यौनबजार बढ्ने देखिएको छ। यदि यही अवस्था रहे अबको दश वर्ष पछि युवाहरूले विवाह गर्न छोड्ने खतरा देखिएको छ।पारिवारिक संरचनामा राज्यले हस्तक्षेप गर्नाले विवाह जीवनकै रमाइलो र जिउने आधार भन्दा पनि झ्याउ, खतरा र टन्टा बन्दै छ। यौनमा पुरुषलाई अंकुश लगाउनाले यौनबजार बढ्ने देखिएको हो। जसले मानव सभ्यता कै ह्रास गराउने छ। यो सम्बन्धमा वर्तमान राज्य व्यवस्था बेखबर छ। अर्थात समग्रमा भन्दा इतिहासकै दु:खद र सामाजिक खतरा परिवेशमा छौं वर्तमानमा हामीहरू !
१)यसको जिम्मेवार को?
२)सुधार्ने कसले?
३)सुध्रिने को? र
४)अबको अन्तिम सामाजिक व्यवस्थापन के हुन सक्ला?

यसको उत्तर पाठकबाट अपेक्षा गर्दै लेखन बिसाउँछु ।।ॐ।।
पं. भीमकान्त पन्थी | भागवतदास

तपाईंहरुको पनि कुनै विषय विशेष आफ्ना विचार प्रकाशन गर्न इच्छा भएमा हामीलाई m.me/singhadurbardaily मा मेसेज अथवा singhadurbardaily@gmail.com मा पठाउन सक्नुहुन्छ ।

यो पोस्टको बारेमा केही टिप्पणी भएमा कमेन्ट गर्नुहोला !

samajikkhabar.com