samajikkhabar.com

पाल सरकारले कात्तिक १ देखि पर्यटकका लागि अन्तर्राष्ट्रिय उडान, पदयात्रा र पर्वतारोहण एकैचोटि खुला गर्ने बताए पनि यो शरद्‌ यामका लागि त्यसबाट पर्यटनमा सुधारको आशा गर्ने ठाउँ नदेखिएको व्यवसायीहरूले बताएका छन्।

नेपालका लागि शरद् र वसन्त ऋतुलाई पर्वतारोहण र पदयात्राका लागि प्रमुख मानिन्छ।

तर अन्तर्राष्ट्रिय उडानमा पर्यटकहरूलाई अहिलेसम्म लगाइएको रोकका कारण यो वर्ष अहिलेसम्म छ नेपालीहरू सम्मिलित एउटा दलले मात्र बरुन च्छे हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

बुधवार एउटा विशेष उडानबाट आएका बहराइनका एक राजकुमारसहित आएको टोलीले लबुचे र मनास्लु हिमाल चढ्ने अनुमति लिन लागेको आरोहण व्यवस्थापन गरिरहेको सेभन समिट ट्रेकले जनाएको छ।

बहराइनको रोयल गार्ड्सको उक्त टोली अर्को वर्ष सगरमाथा आरोहण गर्ने लक्ष्य बनाएर त्यसकै तयारीका रूपमा नेपाल आएको बताइएको छ।

पर्यटन विभागका अधिकारीहरूले यसअघि नै विशेष अनुमति लिएर कोही नेपाल आएर आरोहण अनुमति दिइने बताउँदै आएका थिए।

कोरोनाभाइरस महामारी फैलिएकाले गत वसन्त ऋतुमा पनि नेपालमा कुनै आरोहण गतिविधि भएका थिएनन्।

शरद्‌ कति महत्त्वपूर्ण?

शरद् याम विशेषतः नेपालका मध्यम र सामान्य आरोहण कौशलका आधारमा चढ्न सकिने ससाना ‘ट्रेकिङ पीक’का लागि लोकप्रिय छ।

तर यस याममै मनास्लु, धवलागिरि, ल्होत्से, मकालुसहितका ८,००० मिटरमाथिका अग्ला हिमालमा पनि आरोहीहरूको उल्लेख्य सङ्ख्या देखिनेगर्छ।

पर्यटन विभागको पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्य भन्छिन्: “सगरमाथामा खासै आरोहण नहुने याम भएर चर्चा कम भएको हो। तर कुल आरोहीको सङ्ख्या हेर्ने हो भने त्यो अरु बेला शरद् याममा बढी देखिन्छ।”https://bbc.com/ws/av-embeds/cps/nepali/news-54173575/p08pwlfk/neअडिओ क्याप्शन सुरु हुँदैछ,

महामारीपछि पर्यटन क्षेत्र कति छिटो बौरेला

साना हिमाल र सगरमाथाबाहेक ८,००० मिटरमाथिका अन्य हिमालका लागि सरकारी दस्तुर फरक छ।

त्यसमाथि शरद् याममा वसन्तको तुलनामा हिमाल चढ्ने अनुमति दस्तुर समेत आधा हुनेगर्छ।

वसन्त याममा सगरमाथा चढ्न एक विदेशीले ११,००० अमेरिकी डलर तिर्छन् भने ८,००० माथिका अन्य हिमालका लागि १,८०० डलर र बाँकी साना हिमालका लागि उचाइका आधारमा २५० देखि ६०० डलरसम्म दस्तुर तोकिएको छ।

निर्देशक आचार्य भन्छिन्: “दस्तुरका हिसाबले सरकारी आम्दानीमा यो यामको योगदान कम देखिए पनि सामान्य अवस्थामा त्यसले भित्र्याउने उच्च सङ्ख्याले थुप्रै क्षेत्रलाई चलायमान गराउँथ्यो।”

नयाँ मापदण्डमा के छ?

महामारीकै बीच पर्यटकीय गतिविधि सञ्चालन गर्नका लागि नेपाल पर्यटन बोर्डले यसअघि एउटा ‘सञ्चालन निर्देशिका र स्वास्थ्य मापदण्ड’ तयार पारेको थियो।

नेपालका लागि शरद र बसन्त ऋणु पर्वतारोहण र पदयात्राका लागि प्रमुख मानिन्छन्।
तस्बिरको क्याप्शन,नेपालमा शरद् र वसन्त ऋतुमा पर्वतारोहण र पदयात्राका बढी गतिविधिहरू हुन्छन्

त्यसमा तोकिएको यात्राको मार्ग फेर्न नमिल्ने उल्लेख छ।

बहराइनको टोलीको व्यवस्थापन गरिरहेको सेभन समिट ट्रेक्सका प्रबन्ध निर्देशक तासी लाक्पा शेर्पा भन्छन्: “चार्टर्ड विमानमा आए तापनि हाम्रो टोली नेपाल प्रवेश गरेपछिको एक साता काठमाण्डूमा क्वारन्टीनमा बस्नेछ। अनि हाम्रो यात्राको योजना पनि कतै समुदायसँग सम्पर्क नहुनेगरी तयार पारिएको छ।”

उक्त आरोहण दलको नेतृत्व पनि तासी लाक्पा शेर्पाले नै गर्दैछन्।

उनी भन्छन्: “धेरैको ध्यानाकर्षण गरिरहेको यो आरोहणले नेपालमा सुरक्षित रूपमा पर्यटकीय गतिविधि गर्न सकिन्छ भन्ने सन्देश दिनेछ।”

पदयात्रा र पर्वतारोहणका लागि सरकारले तय गरेको मापदण्डमा उल्लेख गरिएका अन्य कुराहरू यस्ता छन् –

  • पदयात्री र आरोहीको समूह १५ जनाभन्दा बढीको हुन नहुने
  • पदयात्रा मार्गमा रहेका सबै स्वास्थ्यचौकीमा स्वास्थ्य विवरण बुझाउनुका साथै थप स्वास्थ्य जाँच हुनुपर्ने
  • पदयात्रा र आरोहण सुरु गर्नुअघि र सकेपछिका स्वास्थ्य विवरण एजेन्सीले पर्यटन विभागलाई दिनुपर्ने
  • आफूले प्रयोग गरेका कुहिने फोहोरको जिम्मेवार तरिकाको व्यवस्थापन गरेको र नकुहिने फोहोर फिर्ता ल्याएको प्रमाणित हुनेगरी स्थानिय सरकारको प्रमाणित पत्र ल्याउनुपर्ने
  • स्थानीय बालबालिकालाई चकलेट दिने जस्ता काम गर्न नहुने
वसन्तमा भन्दा शरद् याममा हिमाल चढ्ने अनुमति लिँदा तिर्नुपर्ने दस्तुर कम हुन्छ
तस्बिरको क्याप्शन,वसन्तमा भन्दा शरद् याममा हिमाल चढ्ने अनुमति लिँदा तिर्नुपर्ने दस्तुर कम हुन्छ

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले गत महिना बीबीसीसँग कुरा गर्दै शरद् यामका लागि गरिएका ३० प्रतिशत बुकिङ नै रद्द नभएकाले शरद् याममा पर्यटन केही तङ्ग्रिन सक्ने दाबी गरेका थिए।

तर सरकारले यसअघिको निर्णयमा पर्यटकहरूलाई नेपाल आउने अनुमति दिएको थिएन।

के छन् समस्या र चुनौतीहरू?

शरद् याममा हिमाल चढ्ने काम विगतमा नोभेम्बर महिनाको पहिलो सातासम्म भएका छन्।

तर अक्टोबर १७ (कात्तिक १) बाट मात्र विदेशीलाई नेपाल आउने बाटो खोलिदिँदा त्यो याम सकिने बेला हुने भएकाले त्यो याम खुल्नु वा नखुल्नुको केही अर्थ नहुने पर्यटन व्यवसायीहरू बताउँछन्।

“धेरै आरोहीहरू शरद् याममा आउनका लागि तयार भएर बसेका भए पनि यो याम मुख्य रूपमा समयकै अनुकूल छैन,” अर्को एक आरोहण कम्पनी क्लाइम्बिङ द सेभन समिट्सका टेन्डी शेर्पा भन्छन्।

“अग्ला हिमालका लागि केही साता अनुकूलन हुन बस्नुपर्ने हुन्थ्यो, त्यसको त कात्तिक १ पछि सम्भावना निकै कम छ। केहीगरी आइहालेमा छोटो समय साना ट्रेकिङ पीकका लागि आशा गर्न सकिएला।”

तर पर्यटकहरूलाई नेपालमा स्वास्थ्य समस्या देखिएमा त्यसको स्पष्ट उद्धार रणनीति र बीमाको सुनिश्चितता भइनसकेको अवस्थामा पर्यटकहरू यहाँ आउन उत्साहित भइहाल्ने अवस्था नभएको पर्यटन व्यवसायीहरू बताउँछन्।

आरोही लेखक एलन आर्नेटले आफ्नो ब्लगमा ‘आवश्यक परेको खण्डमा के नेपालमा पर्याप्त सघन उपचार शय्या उपलब्ध छन् त?’ भन्दै चासो व्यक्त गरेका छन्।BBC

samajikkhabar.com