samajikkhabar.com

भ्रमण बर्ष २०२० नजिकिदै गर्दा देशमा पर्यटन भित्र्याउने चहलपहल पहिले भन्दा बढ्दो छ । देश तथा विदेशका हरेक संघ संस्थाहरु आफ्नो तर्फबाट भ्रमण बर्ष ब्यापक बनाउन र देश बिदेशमा आफ्नो देशको पर्यटकीय गन्तब्य चिनाउन फरक खाले तयारी गरिरहेका छन्।

सोही क्रममा पर्यटन क्षेत्र र पर्यटन बिकासमा नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीहरूको संस्था स्कल क्लब अफ नेपालले ३ दिने कार र्‍याली आयोजना गर्ने भएको छ। युरोपको स्पेनमा मुख्यालय रहेको स्कल इन्टरनेशनलले नेपालमा रहेको स्कल इन्टरनेशनल नेपाल शाखा सँग मिलेर गर्न लागेको कार र्याली ६ डिसेम्बरदेखि काठमाडौंबाट सुरु भइ चितवन, पोखरा हुदै पुन : काठमाडौं आएर टुंगिने छ।

सोमबार सांग्रिला होटलमा पत्रकार सम्मेलन गर्दै स्कल क्लब अफ नेपालको अध्यक्ष प्रविनबहादुर पाण्डेले स्कल इन्टरनेसनलको पहिलो गन्तब्यमा नेपाल सुचिकृत हुनुले प्रत्यक्ष रुपमा नेपालका पर्यटकीय स्थल प्रचारप्रसारमा मद्दत पुग्ने र भ्रमण बर्ष २०२० प्रचारमा थप मद्दत पुग्ने बताए। र्‍यालीमा ३५ जना पर्यटन, एयरलाइन्स, होटल, टुर एण्ड ट्राभल व्यवसायी आफै गाडी चलाएर सहभागी हुँदै छन्। साथै नेपाल पर्यटकहरुको लागि सुन्दर मात्र नभई सुरक्षित भएको कुरा देश विदेश समक्ष पुर्याउने कार्यक्रमको उद्धेश्य रहेको बताए।

युरोपको स्पेनमा मुख्यालय रहेको स्कल इन्टरनेशनलले नेपालमा रहेको स्कल इन्टरनेशनल नेपाल शाखा सँग मिलेर कार र्याली गर्न लागेको बताएको छ। डेस्टिनेसन अफ द इयर २०२० नाम दिइएको कार र्यालीको दौरान स्कल इन्टरनेशनलका प्रतिनिधिहरुले स्थानीय पर्यटन ब्यबसायीहरु सँग छलफल अन्तरक्रिया समेत गर्ने कार्यक्रम समेत रहेको छ।

samajikkhabar.com