samajikkhabar.com

मंसिर ६ ,काठमाडौँ । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा आजबाट सुरु भएको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको ४ दिने साइकल यात्रा आज पशुपतीनाथबाट सुरु गरिएको हो। साइकल यात्रा समृद्ध सिन्धुली अभियानले सन्चालन गरेको हो ।

साइकलयात्रा काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएर सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने छ । साइकल यात्रीलाई यस बर्षको विवाह पञ्चमीमा जनकपुरमा हुने महोत्सवमा सहभागी गराउने गरी लैजान लागिएको हो ।

विश्व प्रसिद्ध साइकल यात्री पुस्कर शाह र १० बर्सीय सुयोगमान सिंह बस्नेत सहित १७५ जना राइडर र ३८ जना ब्यबस्थापकहरुको सहभागीता रहेको छ । साइकल यात्रीलाई संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिसरबाट विदाइ गरेका थिए। साइकल यात्राबाट ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको प्रवर्धन हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई पनि विशेष सहयोग पुग्ने अपेक्षा मन्त्रि भट्टराईले गरेका छन्।

साइकल यात्राको सहआयोजक स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था छन् भने पर्यटन बोर्डले यसको प्रबर्धनमा सघाएको छ  ।

काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँ गाउँपालिका र होटल ब्यवसायी मिलेर स्थानीय उत्पादनको प्रबर्धन गर्न सुनकोशी महोत्सवको आयोजना गर्ने छन् । महोत्सवमा सांगितिक कार्यक्रम, फूड स्टल, स्थानीय उत्पादनको खरिदविक्री र सुनकोशीमा र्याफ्टिङ् गर्ने ब्यवस्था मिलाइएको सिन्धुलीय श्रेष्ठ समाजका सचिव हरिकृष्ण श्रेष्ठले बताए ।त्यसै गरी दोस्रो दिन साइकल यात्री बास बस्ने सिन्धुलीमाढीमा बृहद् साँस्कृतिक कार्यक्रम हुनेछ । त्यसपछि जनकपुरमा समेत यस्तै कार्यक्रम आयोजना गर्ने तयारी छ ।

samajikkhabar.com