samajikkhabar.com

नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक–एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् ।


भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ। स्पाइस जेटले काठमाडौँ–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौँ–नयाँ दिल्ली रुटका लागि दैनिक एक–एक उडान गर्ने अनुमति पाएका छन् । भारतका दुई कम्पनी स्पाइस जेट र भिस्ताराले डिसेम्बर महिनाको दोस्रो सातादेखि नेपालमा उडान भर्नेछन् ।

कुवेतको जजिरा एयरले अगामी मंसिर १ गते (नोभेम्बर १७, सन् २०१९) देखि नेपालमा उडान भर्ने भएको छ । जजिराको उडान तालिका निश्चित भएको नियामक निकाय प्राधिकरणले जनाएको छ ।

सरकारले युरोपेली मुलुक फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ । फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक फिनिस एयरले नेपालमा सिधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ । नेपालले गत असोज १४ (अक्टोबर १ सन् २०१९) मा अस्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गरेको थियो । 

samajikkhabar.com