samajikkhabar.com

एजेन्सी : इटालियन च्याम्पियन युभेन्टसले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा तेस्रो श्रेणीको क्लब नोभारामाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।

प्रशिक्षक आन्द्रीए पिर्लोले आफ्नो पहिलो खेलमा बलियो सुरुवाती टोली मैदान उतारेका थिए । युभेन्टसका लागि वेस्टन मकेनी र डेजान कुलुसेभ्सकीले डेब्यु गर्दा क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईमा खेलेका थिए । रोनाल्डोले खेलको २० औं मिनेटमा कुलुसेभ्सकीसँग १-२ पास खेल्दै पहिलो टचमा प्रहार गर्दै गोल गरेका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा केहि खेलाडी परिवर्तन गर्यो । यसै सिजन बार्सिलोना छोडेर युभेन्टस आएका मिडफिल्डर आर्थरले एड्रीएन राबीओटको स्थान लिए । रोनाल्डोको स्थानमा मैदान छिरेका डग्लस कोस्टाले युभेन्टसको दोस्रो गोलमा असिस्ट दिए । उनले ५६ औं मिनेटमा दिएको पासलाई आरोन रामजीले गोल गरेका थिए ।

६६ औं मिनेटमा मार्को प्याचाले गोल गर्दै ३-० को अग्रता दिलाए । इन्ज्युरी समयमा दुई मिनेटको अन्तरमा मानोलो पोर्टानाभाले दुई गोल गर्दै फराकिलो ५-० जित दिलाए ।

samajikkhabar.com