samajikkhabar.com

काठमाडौँ — नेपाली क्रिकेट टोली एसीसी एसिया कप छनोटको प्रारम्भिक चरण पार गर्न असफल भएको छ । एसीसी इस्टर्न रिजन ट्वान्टी–२० कपमा मलेसिया र हङकङसँग पराजित भएपछि कठिन स्थितिमा पुगेको नेपालले बुधबार घरेलु टोली थाइल्यान्डलाई ९ विकेटले हराए पनि फाइनल पुग्न नसक्ने निश्चित भएको छ । 

इस्टर्न रिजनका फाइनलिस्ट टोलीले अगस्टमा एसिया कप छनोट खेल्न पाउनेछन् । जहाँ वेस्टर्न रिजनका फाइनलिस्ट टोलीसँग राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा हुनेछ । त्यो प्रतियोगिता विजेताले सेप्टेम्बरमाटेस्ट मान्यताप्राप्त ५ राष्ट्रसँग एसिया कप ट्वान्टी–२० खेल्ने अवसर पाउनेछ । नेपालले अहिलेसम्म एसिया कप खेलेको छैन ।

सुरुआती दुई खेल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएपछि नेपालले फाइनल पुग्नका लागि बाँकी २ खेल ठूलो अन्तरमा जित्ने र अन्य टिमको नतिजा आफूअनुकूल हुनुपर्ने समीकरण बनेको थियो । त्यसअनुसार बुधबार नेपालले थाइल्यान्डमाथि ठूलो अन्तरको जित निकाल्यो ।

तर दिनको दोस्रो खेलमा सिंगापुरले हङकङलाई १६ रनलेपराजित गरेपछि नेपाल सिंगापुरसँग खेल्नुअगावै फाइनल नपुग्ने निश्चित भएको हो । लगातार तीन जितपछि सिंगापुर फाइनलमा पुगेको छ । अब मलेसिया र हङकङबीचको विजेताले फाइनलमा स्थान बनाउन छ । दुवैको तीन खेलबाट २ जितसिहत ४–४ अंक बनाएका छन् ।

बैंककको ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेट क्षतिमा भेट्टायो । ब्याटिङलाइन परिवर्तन गरेको नेपालले थाइल्यान्डसँग पूर्व कप्तान पारस खड्का र कुशल मल्ललाई ओपनिङ पठाएको थियो ।

खराब लयबाट गुज्रिइरहेका पारस ९ रनको स्कोरमा आउट भए पनि त्यसपछि आएका पवन सर्राफले कुशलसँग ५८ रनको अविजित साझेदारी गर्दै खेल जिताए । कुशलले १८ बल खेलेर २ छक्का र ५ चौका सहयोगमा ३६ रन बनाए । छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका पवनले १० बलमा ३ छक्का र २ चौकासहित २७ रन जोडे ।


त्यसअघि टस जितेको थाइल्यान्डले अन्तिम बलमा अलआउट हुनुअघि न्युन योगफल बनाउँदा दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके । तेस्रो नम्बरमा ब्याटिङ गरेका हेन्नो जोर्डनले १६ र नवौं नम्बरका फिरियापोङ सुआनचुआईले अविजित १३ रन बनाए ।थाई इनिङ्स ध्वस्त पार्न करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा २ मेडन राख्दै १२ रन खर्चिए ।

४ ओभरमा २३ रन खर्चिएका अविनाश बोहराले २ विकेट लिए । सन्दीप लामिछानेले १ र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका भुवन कार्कीले १ विकेट लिए । भुवनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित ६ रनमात्र खर्चिए ।

सन्दीपले आफ्नो स्पेलमा २ मेडन राख्नै ९ रन खर्चिएका थिए । त्यसक्रममा २४ मध्ये २२ बलमा उनले रन दिएनन् । बाँकी २ बलमा ३ रन खर्चिएका उनको ६ रन वाइड बलिङबाट गएको हो । दुईपल्ट वाइड फाल्दा एउटा बल चौका भएको थियो । डट बलमा यो उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।

सन्दीपले यसै प्रतियोगिताबाट ट्वान्टी–२० क्रिकेटमा १ सय विकेट पूरा गरेका थिए । यस प्रतियोगितामा अहिलेसम्म उनले ५ विकेट लिइसकेका छन् । समग्रमा उनको ट्वान्टी–२० विकेट १ सय ४ पुगेको छ ।

samajikkhabar.com