samajikkhabar.com

धनकुटा — उदयपुरको चौदण्डी नगरपालिका फुटबल क्लबलाई पराजित गर्दै कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा ताप्लेजुङले चौदण्डीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफको सुरुवाती अग्रता लिएको चौदण्डीविरुद्ध ताप्लेजुङ आक्रामक रूपमा प्रस्तुत भएपछि नतिजा उल्टिन पुगेको थियो ।

८ औं मिनेटमा चौदण्डीका मनिका राईले लामो दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भयो । पहिलो हाफको २४ औं मिनेटमा ताप्लेजुङका तर्फबाट इन्द्रमाया गुरुङले गोल गर्दै खेल बराबरीमा धकेलिन् । चौदण्डीले लय गुमाउन थालेपछि ताप्लेजुङले फाइदा लियो । उसले २९ औं मिनेटमा अनुष्का शेर्पाको गोलमा २–१ कोअग्रता लियो । यसरी पहिलो हाफमा ताप्लेजुङले आफ्नो पक्षलाई जितका लागि सहज बनायो ।


दोस्रो हाफपछि चौदण्डीका तर्फबाट मनिता तामाङले २२ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरी गरिन् । अधिकांश समय आफ्नो पक्षमा बल कब्जा गरेको ताप्लेजुङका लागि पुनः २५ औं मिनेटमा अनुष्काले व्यक्तिगत दोस्रो गोल गरिन् । उनको यही गोल निर्णायक बन्यो । वुमन अफ द म्याच ताप्लेजुङकी अनुष्का शेर्पा घोषित भइन् । उनले ३ हजार नगद र पदक प्राप्त गरिन् । सोमबार दुईवटा सेमिफाइनल खेल हुनेछ । पहिलो खेल कन्काई फुटबल क्लब झापा र मोरङ ११ बीच हुनेछ । दोस्रो ताप्लेजुङ र आयोजक धनकुटाबीच हुनेछ ।

samajikkhabar.com