samajikkhabar.com

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको राष्ट्रिय खेल मानिने भलिबलका खेलहरु बुधबार/आजदेखि सुरु हुने भएको छ। खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

पहिलो दिन पुरुष तर्फ समूह ‘ए’ बाट राति ७ बजे नेपाल र बाङ्लादेश, महिला तर्फ समुह ‘ए’ बाट दिउँसो ३ बजे नेपाल र बाङ्लादेश तथा समुह ‘बि’ बाट राती ७ बजे माल्दिभ्स र पाकिस्तान भिड्नेछन्।

१३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भनिएको भए पनि भलिबलका खेलहरु भने चार दिन अगाडि नै सुरु हुन लागेको हो। अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछ।

सागमा नेपाली महिला भलिबल टोलीले यसअघि भएका तीनवटै संस्करणमा कांस्य पदक जित्दै आएको छ। १०औं, ११औं र १२औं सागमा कांस्य पदक जितेको नेपाली टोली यस पटक उत्कृष्ट नतिजा दिने अभियानमा छ। अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ।

साँझ ७ बजे सुरु हुने पुरुषतर्फको नेपाली टोलीको नेतृत्व इम रानाले गरेका छन्। पुरुष टोलीले भने अहिलेसम्म सागमा पदक जित्न सकेको छैन।

samajikkhabar.com