samajikkhabar.com

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतले पुरुषतर्फ फुटबल नखेल्ने निर्णय गरेको छ। फुटबलको समूह विभाजन र खेलतालिकासमेत सार्वजनिक भएपछि भारतले पुरुष फुटबलमा भाग नलिने निर्णय गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार मात्र सागका लागि पुरुष र महिला दुवै टोलीको खेलतालिका सार्वजनिक गरेको थियो।

यसअघि पुरुषतर्फ पाकिस्तानबाहेक ६ टोलीको समूह विभाजन र खेलतालिका सार्वजनिक गरिएको थियो। भारत र पाकिस्तानले नखेल्ने भएपछि अब पुरुष फुटबलमा पाँच टोलीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपाल पुरुष फुटबलको साबिक विजेता टोली हो। नेपालले १२औं सागको फाइनलमा भारतलाई हराउँदै स्वर्ण जितेको थियो।

महिला फुटबलमा भने चार देशले मात्र भाग लिने भएका छन्। महिला फुटबलमा नेपालसहित, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन्। महिला फुटबल पोखरामा हुनेछ।

samajikkhabar.com