samajikkhabar.com

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम सुरु भएको छ ।

रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन ) तयार भएपछि सोहीअनुसार पहिलो चरणमा मैदानको काम सुरु भएको फाउण्डेशनले जनाएको छ । रंगशालामा अहिले मैदानको ड्रेनएजको काम भैरहेको छ । मैदान ‘लो ल्याण्ड’मा रहेकोले ३.५ फिट माटो भर्ने कामलाई पनि सँगसँगै अघि बढाइएको फाउण्डेसनले जनाएको छ ।

‘अहिले ड्रेनऐजबाट निस्किएको माटो र स्टक ग्राभेलको प्रयोग गरेर मैदान फिलिङको काम गरिरहेका छौं,’ अध्यक्ष कट्टेलले भने, ‘दैनिक ७ वटा मेशिन चलाएर काम गरिरहेका छौं, हिउँद लागेकोले काम गर्न पनि सजिलो हुन थालेको छ, काम युद्धस्तरमा अघि बढेको छ ।’

डीपीआर अनुसार मैदानको लेआउटको काम सुरु भएको छ । सोहीअनुसार मैदान बनाउन थालिएको अध्यक्ष कट्टेलले जानकारी दिए। मैदानको पिचबाट रेडियस ७५ मिटर कायम गरिएको छ । क्यूरेटर कोमलबहादुर पाण्डेले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मैदानका लागि आवश्यक रेडियस सेन्टरबाट ७५ मिटर कायम गरेर लेआउट गरी ड्रेनको काम थालिएको बताए ।

यसअघि यसलाई ७० मिटर राख्ने योजना थियो । मैदानमा पाँच वटा पिच निर्माण गर्ने योजना छ । मूल पिचको दायाँबायाँ थप दुई दुई वटा पिच निर्माण गरिने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको मापदण्डअनुसारको मैदान र पिच निर्माण गरिनेछ । पिचको स्टाण्र्डड साइज १० फिट चौडाई र ६६ फिट लम्वाईलाई मानिन्छ ।

samajikkhabar.com