samajikkhabar.com

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । 

पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषय टुंग्याउन बसेको दुई नेताबीचको छलफल करिब २ घण्टा ३० मिनेटसम्म चलेको थियो । 

पछिल्लो पटक प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट थिए । गत असोज २० गते बसेको सचिवालय बैठकमा यसबारे सामान्य छलफल भएको थियो ।

दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन । रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ भने प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन् । 

samajikkhabar.com