samajikkhabar.com

काठमाडौं : विवादित काकडभिट्टा–इनरुवा रेलमार्ग निर्माण ठेक्का स्थगित भएको छ ।

रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी पूर्व–पश्चिम रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माण स्थगित भएको जानकारी दिएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् ।

रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो । जुन टेन्डर अहिले मूल्यांकन प्रक्रियामा रहेको भनिएको छ ।

जग्गा अधिग्रहण पनि नगरी हतार–हतार ठेक्का लगाउन लाग्दा चौतर्फी विरोध भइरहेको छ । रेलमार्गबाट प्रभावित हुने जनता पनि आन्दोलित छन् । तर, सरकार र प्रतिपक्ष दल भने यसमा मौन छन् ।

यता जग्गा र ‘साइट क्लियर’ नगरी कुनै पनि आयोजनाको टेन्डर नगर्न आफैंले दिएको निर्देशन तथा विद्यमान कानुनविपरीत रेल विभागले अघि बढाएको ३३ अर्बको ठेक्कामा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अुसन्धान आयोगले कुनै रुचि देखाएको छैन । बरु अख्तियारले उजुरीमाथि सामान्य अनुसन्धानसमेत नगरी तामेलीमा राख्ने निर्णष् गरेको छ ।

रेलमार्गमा मोटो भर्ने (ट्रयाक बेड निर्माण) कामका लागि आह्वान गरिएको ३३ अर्बको टेण्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । तर, अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेकै पहलमा उजुरी तामेलीमा राख्ने निर्णय भएको बताइएको छ ।

samajikkhabar.com