samajikkhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नोभेल कोरोना भाइरसको संक्रमणबारेको सूचना प्रवाह गर्दा भयवाह तथ्यांक प्रस्तुत गरेर सार्वसाधारणलाई आतंकित नबनाउन निर्देशन गरेका छन् । 

निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँग सुझाव र परामर्शका लागि आयोजित एक छलफलमा प्रधानमन्त्री ओलीले सरकारी निकाय र जिम्मेवार व्यक्तिहरुलाई कोभिड -१९ बारे सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुने सबै जिम्मेवारहरू सचेत हुन निर्देशित दिएका हुन् ।

उनले नेपाली जनता कसैलाई भोकै बस्‍न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्‍नसमेत आह्वान गरेका छन् । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको पनि दाबी गरे । 

विश्वव्यापी महामारीरुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको लडाइँ साझा भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्‍नशील रहेको बताए ।

छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका नेतृत्वकर्ताहरुतर्फबाट आ-आफ्ना सुझावहरू प्रस्तुत गरेका छन् । त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई ‘हौवा’को विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त  सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्‍न कदमहरू, गरेको अध्ययन र सम्बोधनको  बारेमा स्पष्ट गरेका छन् । आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् । 

उनले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे ।

samajikkhabar.com