samajikkhabar.com

काठमाडौं : राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्न मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी छ।

बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने रहेको स्रोतले सेतोपाटीलाई बतायो।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो।

मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन्।

६ महिनादेखि राष्ट्रिय सभामा एक सदस्य खाली छ। अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो।

नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन फागुन १४ गते सिफारिस गरेको थियो। प्रधानमन्त्री ओलीले त्यो निर्णय कार्यान्वयन गराएका थिएनन्।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म पनि खतिवडालाई नै राष्ट्रिय सभामा पठाउन चाहेका थिए। त्यही भएर सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधानअनुसार खतिवडा मन्त्री बनेका थिए।

खतिवडाको ६ महिने कार्यकाल शनिबारदेखि सकिँदैछ। सचिवालयका बहुमत सदस्यले उपाध्यक्ष गौतमलाई बनाउन चाहेपछि गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्री ओलीले नै प्रस्ताव गरेका थिए।

यसैबीच अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख सल्लाहकार बनाउन चाहेका छन्।

‘उहाँ अब प्रधानमन्त्रीको प्रमुख सल्लाहकार हुनुहुन्छ। प्रधानमन्त्रीलाई हरेक किसिमले सहयोग गर्नुहुन्छ,’ अर्थमन्त्री निकट स्रोतले भन्यो,’केही समय अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने र उहाँले सल्लाहकारको रूपमा काम गर्ने सम्भावना पनि छ। उहाँ कुनै पनि देशको राजदूत बनेर जानु हुँदैन।’

त्यस्तै सरकारको प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बन्ने सम्भावना रहेको स्रोतको दावी छ।अहिले खतिवडालेनै अर्थसँगै सञ्चार मन्त्रालयसमेत सम्हालेका छन्।

‘परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्रीले प्रवक्ता बनाउनुहुन्छ होला। सञ्चार दिएर बनाउनुहुन्छ कि आफैंसँग राखेर बनाउनुहुन्छ तर प्रवक्ता भने उहाँ नै बन्ने देखिन्छ,’  स्रोतले भन्यो।

samajikkhabar.com