samajikkhabar.com

काठमाडौं : काठमाडौं उपत्यकामा बज्यो खतराको घण्टीसँगै सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा पुगेका छन् ।

नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या हुने देखिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल बैठक बसेर कोभिड नियन्त्रण सम्बन्धमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालय आफैं शिथिल देखिएको छ ।

नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिसिएमसीका प्रमुख अधिकारी तथा महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन् ।

सिसिएमसीका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल,ल प्रधानसेनापछि पूर्णचन्द्र थापा र सचिव महेन्द्र गुरागाईं होम आइसोलेसनमा बसेका हुन् ।

सिसिएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा उनीहरू छाउनीस्थित सिसिएमसीको कार्यालयमा बैठक बसेका थिए ।

मन्त्रीहरूसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरूको पनि पिसिआर परीक्षण गरिए पनि उनीहरूको नतिजा आउन बाँकी छ । नतिजा नआउँदासम्म उनीहरू होम आइसोलेसनमै बस्नेछन् ।

सिसिएमसी सचिवालयका कर्मचारीसम्ममै कोरोना पुष्टि हुँदा उपत्यकामा संक्रमणको झनै खतराको संकेत देखिएको छ ।

सिसिएमसी सचिवालय संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले ती कर्मचारीमा कपाल काट्न जाँदा संक्रमण भएको हुन सक्ने जनाएका छन् ।

पछिल्ला दिनमा सिसिएमसीले कोरोना नियन्त्रणका लागि महत्वपूर्ण निर्णय लिन सकेको छैन । विगतका केही बैठकमा आगामी रणनीतिबारे के गर्ने भन्ने विषयमा छलफल हुने गरे पनि कुनै निर्णय हुन सकेको छैन ।

कोभिड–१९ को महामारी तीव्र रूपमा फैलँदै गर्दा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय झनै सक्रिय हुनुपर्नेमा निष्कृय जस्तै छ ।

मन्त्रिपरिषद्को अघिल्लो हप्ता बसेको बैठकले संक्रमणको स्थिति आँकलन गरेर सम्बन्धित जिल्ला वा क्षेत्र लकडाउन गर्ने वा कफ्र्युसम्म लगाउने अख्तियारी प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई दिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा प्रशासनले एक हप्ता बढीदेखि निषेधाज्ञा जारी गरेका छन् ।प्रशासनले पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरे पनि कहिलेसम्म गर्ने र आगामी दिनमा के गर्ने भन्ने अन्योल देखिएको छ ।

यसअघि ११ चैत २०७६ देखि सरकारले देशव्यापी लकडाउन गरेको थियो । तर, कोरोना नियन्त्रण नभएपछि सरकारले चार महिना लकडाउन गरेर खुलाएको थियो ।

त्यसपछि दिनप्रति दिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दो छ । त्यसमा पनि काठमाडौं उपत्यकामा संक्रमतिको संख्या ह्वातै बढेको छ । मुलुकमा शुक्रबार कोरोनाबाट संक्रमितमध्ये करिब ४५ प्रतिशत काठमाडौं उपत्यकामा देखियो ।

देशभर ९२७ संक्रमित देखिएकामा काठमाडौं उपत्यकामा मात्र ४१५ जनामा पुष्टि भएको थियो । केही दिनअघि दैनिक देखिने संक्रमितमध्ये एक तिहाइ काठमाडौं उपत्यकाका थिए ।

विज्ञहरूले उपत्यकामा भित्रभित्रै फैलिसकेकाले संक्रमण तीव्र देखिएको र आगामी दिनमा झन् बढ्न सक्ने बताएका छन् ।

यो पनि पढ्नुहोस:

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

चेन्नईको टोलीमा १ खेलाडी सहित १२ जनामा कोरोना संक्रमण पुष्टि

शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी, ५१ करोड अनियमितताको आरोप

भाटभटेनी सुपरमार्केटमा खसीको मासु प्रतिकेजी ८५० रुपैयाँ मात्र

कोरोनाबाट थप १२ जनाको मृत्यु

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

samajikkhabar.com