samajikkhabar.com

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो नाता वा सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरुपयोग नगरेको दाबी गरेका छन्। 

आफ्नो नाता सम्बन्धका व्यक्तिले लाभको पद लिएर कानुनी व्यवस्थाको उल्लंघन नगरेको उनको दाबी छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री पोखरेलले त्यस्ता समाचारमा सत्यता नभएको दाबी गरेका हुन्। 

‘केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन्। ती समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री पोखरेलले भनेका छन्, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन।’ 

 पोखरेलले सबै काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णयका आधारमा भएको दाबीसमेत गरेका छन्। 

उनले कतै अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सजायको भागिदार हुने प्रतिवद्धतासमेत जनाएका छन्। आफ्नो विषयमा तथ्यहीन र गलतत मनसायका साथ सार्वजनिक भएका विषयको भ्रममा नपर्न उनले सबैलाई आग्रहसमेत गरेका छन्। 

‘अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु। मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु’, पोखरेलले थप भनेका छन्, ‘यस्तो विषयका कारण दुःखित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु।’ 

मन्त्री पोखरेलले राजाको शासनमा घरको पानी ट्यांकीमा पैसा राखेको कुप्रचार भएको सम्झना गर्दै शाही शासनका मतियारहरु नयाँ ढंगले आफू विरुद्ध उरालिएको भन्दै आपत्ति प्रकट गरेका छन्। 

‘विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको थियो। अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु’, मन्त्री पोखरेलले थप भनेका छन्, ‘सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु। तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन।’ 

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्य प्रा.डा. उपेन्द्र कोइराला नियुक्त भएपछि मन्त्री पोखरेलको चर्को आलोचना भएको थियो । उपप्रधान तथा रक्षामन्त्री  पोखरेलका ‘सम्धी’ कोइरालालाई राजनीतिक नियुक्ति दिइएको भन्दै चौतर्फी रुपमा आलोचना भएपछि उनले विज्ञप्ति सार्वजनिक गरेका हुन् । 

विज्ञप्ति जस्ताको तस्तै

सबै महानुभावहरूमा अनुरोध !

केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।

मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएकाे वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेराे अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/ गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्ताे विषयका कारण दु:खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेराे बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु – तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै / कहिल्यै कमजोर हुन दिने छैन – किमार्थ टुट्न दिने छैन !!
– ईश्वर पोखरेल

samajikkhabar.com