samajikkhabar.com

काठमाण्डौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीको कारण लक्ष्यअनुसार काम गर्न नसकेको बताउनुभएको छ । 

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्न भएको भर्चुअल कार्यक्रममा मन्त्री भट्टराईले सबैभन्दा धेरै पुँजीगत खर्च र वित्तीय प्रगति हुने समय अर्थात् पुसदेखि असारसम्म काम गर्न नपाउँदा मन्त्रालयको खर्च लक्ष्यअनुसार नभएको मन्त्री भट्टराईको भनाइ छ । 

‘कोरोनाले बिथोल्दा बिथोल्दै पनि हामीले ६४ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएका छौँ, वित्तीय व्यवस्था र चालु खर्चसमेत गर्दा औसतमा मन्त्रालयको खर्च ६० प्रतिशत रहेको छ’, मन्त्री भट्टराईले भन्नुभयो, ‘भैरहवामा साढे तीन अर्ब र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा उल्लेख्य रुपमा काम नहुँदा डेढ अर्ब खर्च हुन सकेन र पुँजीगत खर्च धेरै देखिएन । कोरोना महामारी नआएको भए सबै प्रगति ९० प्रतिशत हुन सक्थ्यो । तर परिस्थिति हाम्रो काबुभन्दा धेरै बाहिर थियो ।’

कोरोना नआएको भए गएको आर्थिक वर्षमै भैरहवा विमानस्थलको काम सकिइ सक्ने मन्त्री भट्टराईको दाबी छ । ‘लकडाउन हुँदा हुँदै पनि भैरहवामा काम भइरहेको थियो तर हामीले गरेको लकडाउनका कारण कतिपय विदेशी प्राविधिक र उपकरण आउन नपाउँदा प्रगतिमा केही कमी देखिएको हो, सरासर काम गर्न पाएको भए भैरहवा विमानस्थल तीन महिनाअघि नै निर्माण सम्पन्न भएर सञ्चालनको दिशामा जाने थियौँ’, मन्त्री भट्टराईले भन्नुभयो । 

samajikkhabar.com