samajikkhabar.com

काठमाडौं : उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ। फोरमको आजको बैठकले यस्तो निर्णय गरेको हो।

उपत्यकामा समुदायस्तरमै कोभिड १९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिएको उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले जानकारी दिए।

‘स्वास्थ्य मन्त्रालयको टिमसहित भोलिबाटै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाउँछौँ,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको परीक्षण गर्छौ।’

शाक्यले अहिलेसम्म उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्क अनुसार २७ सय ४६ जना संक्रमित भेटिएको भन्दै त्यसका आधारमा करीब २८ हजार पाँच सयको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने अनुमान गरे। उनले ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने जानकारी दिए।

त्यसैगरी बैठकले उपत्यकाका स्थानीय तहबाट प्रवाहित हुँदै आएका सेवाहरु मध्ये अत्याश्येकबाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा पुनः भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ।

उनले निषेधाज्ञाको अवधभित्रै कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न गर्ने गरी अघि बढेको बताए। ‘स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई भोलिबाटै १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘हामी उहाँहरुसँग सहकार्य गरेर भोलिबाटै फिल्डमा जान्छौँ।’

बैठकमा उपस्थित मेयरहरुले एकीकृत आइसोलेशन निर्माण गर्ने, डेलिकेटेट एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले छिटो सूचना दिनुपर्ने जस्ता माग राखेका थिए।

बैठकमा स्वास्थ्य मन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले कोरोना विरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए।

‘काठमाडौँभित्र कम्तीमा १५ हजार संक्रमित रहेको हुनसक्ने अनुमान छ,’ उनले भने, ‘हामीले त्यो चेन तोड्न सकेनौँ भने अवस्था भयावह हुनसक्छ। त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ।’ उनले मन्त्रालय प्राविधिक सहयोग गर्न तयार रहेको भन्दै सबै पालिकालाई संक्रमित व्यक्तिलाई समुदायबाट हटाएर आइसोलेट गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले नेपालले महामारी पहिलो पटक भोगेको भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्ने आइसोलेट गर्ने उपचार गर्ने विधिलाई प्राथमिकता दिनुपर्ने बताए। ‘ट्रेस, टेस्ट, आइसोलेट गर्न तपाईँहरु लाग्नुहोस् हामी सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘तपाईँहरुले नेतृत्व लिनुपर्छ। मन्त्रालय, विभाग, जिल्ला सहयोग गर्न तयार छ।’ उनले धेरै भन्दा धेरै टेस्ट गर्न सुझाव दिए।

स्वाथ्य विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको जानकारी दिए।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले पछिल्लो समय संक्रमित बढेको भन्दै त्यसले उपत्यकामा संक्रमित धेरै छन् भन्ने प्रमाणित गरेको बताए।

‘अहिलेको आवश्यकता भनेको समुदायमा जान सक्ने खतरालाई रोक्ने नै हो,’ उनले भने, ‘हामी सहजीकरण गर्न तयार छौँ। काम तपाईँहरु गर्नुहोस्।’ उनले कोटेश्वर, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा बढी संक्रमित देखिएको भन्दै संक्रमितको संख्या लगातार वृद्धि भइरहेको स्मरण गराए।

samajikkhabar.com