काठमाण्डौ : नेकपा भित्र पछिल्लो समय देखिएको विबाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले आफ्नो प्रतिवेदन नेकपा अध्यक्षद्वयलाई आज बुझाएको छ ।
एकसाताको गृहकार्यपछि कार्यदलले विबाद समाधानको सुझाव सहितको प्रतिवेदन शनिवार अपरान्ह ४:४५ बजे नेकपाका अध्यक्षद्वयलाई बुझाएको हो । स्रोतका अनुसार प्रतिवेदनमा कार्यदलका सबै सदस्यको सहमति छ । स्रोतले प्रतिवेदन भित्र के छ भन्ने कुरा खुलाएनन ।
‘सहमतिको आधारमा तयार भएको प्रतिवेदनले पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निश्कर्षमा पुर्याउने छ’ समिति स्रोतले भन्यो ।
कार्यदलको प्रतिवेदनको कार्यान्वयनले आम कार्यकर्तामा पार्टी एकीकरण बलियो भएको सन्देश जाने कार्यदलको विश्वास छ । स्रोतका अनुसार २०७६ मंसिर ४ गते सचिवालयमा भएको सहमति अनुसार प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार सहित पार्टी संचालनको जिम्मा दिने विषय प्रतिवेदनमा उल्लेख छ ।
यस्तै केपी ओलीले संसदको यो कार्यकाल भरी सरकार संचालन गर्ने र यसमा पार्टीले सघाउने उल्लेख छ । ओली अध्यक्षमा कायम रहेपनि पार्टी काममा हस्तक्षेप गर्ने छैनन् ।
सरकार संचालन र महत्वपूर्ण नियुक्तिमा प्रधानमन्त्रीले पार्टीको सुझाव सल्लाह लिने विषयलाई पनि कार्यदलले प्रतिवेदनमा समेटेको छ ।
कार्यदलले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिमण्डल पुर्नगनठनको सुझाव पनि अध्यक्षद्वयलाई दिएको छ । जनअपेक्षा अनुसार सरकारका कामलाई अझ प्रभावकारी बनाउन संघीय र प्रदेश सरकार समेत पुर्नगठन गरेर नयाँ उर्जाका साथ अगाडि बढ्न सुझाव दिइएको स्रोतको दाबी छ ।
गएको साउन ३० गते शुक्रवार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने सहमति भएको थियो । साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले सो कार्यदल अनुमोदन गरेको थियो ।
कार्यदलले दिएको प्रतिवेदन अध्यक्षद्वयले ग्रहण गरेपछि पार्टीको सचिवालयबाट अनुमोदन गरिने नेकपा स्रोतले बतायो ।
कार्यदलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य थिए ।
कार्यदलको प्रतिवेदन तयार भएपछि असार १० गते शुरु भएर पटक पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटि बैठकले समेत निकास पाउने अपेक्षा गरिएको छ ।