samajikkhabar.com

काठमाडौँ : सरकारले गरेका पछिल्ला केही नियुक्तिले सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच मतभेद देखिएको छ । जसले नेकपा विवाद समाधान गर्न गठित कार्यदलको कामसमेत प्रभावित भएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारले गरेका नियुक्तिले कार्यदलको काम प्रभावित हुनसक्ने बताएका थिए ।

मंगलबार र बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेका अध्यक्ष प्रचण्डले कार्यदल गठन भएयता सरकारले गरेका नियुक्तिप्रति असन्तुष्टि जनाएका थिए । प्रचण्डसँगको भेटलगत्तै विवाद फराकिलो हुने संकेत पाएका प्रधानमन्त्री ओलीले कार्यदल सदस्यहरुसँग छलफल गरेका थिए ।

बिहीबार बिहान केही समय पछाडि सारिएको कार्यदल बैठक दिउँसो भनेर बालुवाटारमै बसेको थियो । यद्यपि कार्यदल सदस्यले दुवै अध्यक्ष ओली र प्रचण्डबाहेक बरिष्ठ नेता माधवकुमार नेपालसँगसमेत नियमित परामर्श गरेर सहमतिको खाका बनाउने कोसिस गरेका छ ।

कार्यदलले आफ्नो तर्फबाट सहमतिको प्रारम्भिक खाका बनाउने गृहकार्य जारी राखेको छ । कार्यदलका एक सदस्यले छिट्टै नै सहमतिमै प्रस्ताव तयार पार्ने दावी गरे ।

तर यता बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर प्रचण्डले पछिल्ला नियुक्ति सच्च्चाउन माग गरेका छन् । नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदलको काम प्रभावित हुनसक्ने प्रचण्डको चेतावनी छ ।

यद्यपि प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको बताएका छन् । ओली र प्रचण्डकै सहमतिमा शुक्रबार गठित कार्यदलले शनिबारबाटै काम थालेको थियो ।

तर, सोमबारको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय लिएको थियो । यिनै नियुक्तिमा प्रचण्ड र अन्य वरिष्ठ नेताहरुको तीव्र असन्तुष्टि छ ।

यद्यपि भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । प्रचण्डले कार्यदल गठनपछि मन्त्रिपरिषदबाट अन्य केही नियुक्तिहरु पनि भएको आंशका गरेका छन् ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नियुक्तिपछि बुधबार प्रचण्डलाई भेटेर खारेजीका लागि प्रधानमन्त्री ओलीसँग संवाद गर्न सुझाव दिएका थिए । त्यसैअनुसार प्रचण्ड बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

सोमबार मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेकपाको सचिवालयले कार्यदललाई अनुमोदन गरेको थियो । ओली र प्चण्डले कार्यदल बनाएपछि खनाल, नेपाल र प्रवक्ता श्रेष्ठको असन्तुष्टि थियो ।

कमिटी छलेर कार्यदल बनाएपछि अनुमोदन गर्नुको कुनै अर्थ नरहेको भन्दै सोमबार सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले पनि असन्तुष्टि पोखेका थिए । कार्यदल प्रतिवेदन सचिवालयमा छलफल गर्ने सहमतिपछि बैठकबाट कार्यदल अनुमोदन भएको थियो ।

सचिवालय बैठकबाट कार्यदल अनुमोदनपछि उत्साही सदस्यहरुले आफ्नो गृहकार्य अगाडि बढाउन खोजेका थिए । तर, त्यसैदिन मन्त्रिपरिषद्को निर्णयले कार्यदलभित्र पनि आंशका पैदा गरेको थियो ।

एक सदस्यका अनुसार विवाद समाधानसम्बन्धी प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटिरहेका बेला नेकपाका दुई अध्यक्षबीच केही नियुक्तिलाई लिएर विवाद देखिएपछि कार्यदलको बैठकमासमेत असर परेको छ ।

शनिबार, आइतबार मंगलबार र बिहीबार गरी कार्यदलको चौथो बैठक बसेको थियो । बिहीबार पनि बिहान आठ बजे बोलाइएको बैठक दिउँसोसम्म स्थगित भएको थियो ।

प्रचण्डले बुधबार एक टीभीलाई दिएको अन्तर्वार्तामा कार्यदलले काम गरिरहेको र एक सातामा केही नतिजा आउने बताएका थिए । यद्यपि ओलीले असार २८ मै पाँच दिनभित्र विवाद समाधान हुने दावी गरेका थिए ।

नेकपामा गत असार १० गते सुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयको विषयबारे विवाद छ ।

सहमति खोज्ने शीर्ष नेतृत्वको डेढ महिना लामो कोसिस असफल भएपछि महासचिव विष्णु पौडेलेको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदलले काम गरिरहेको छ ।

कार्यदलले दुई अध्यक्षबीचको अधिकार बाँडफाँट, संघीय सरकार र प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार मन्त्रिपरिषद् पुनर्गठन, केही प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन, सरकारका काम प्रभावकारी बनाउन संयन्त्र गठन, महाधिवेशनको कार्ययोजनलगायतका विषयमा मस्यौदा बनाउने छ ।

पार्टी सञ्चालनसम्बन्धी बाँकी काम र अहिलेसम्म भएका कमी–कमजोरीको आत्मालोचनासम्मको मस्यौदा बनाउने कार्यदल सदस्यहरुको दावी छ ।

samajikkhabar.com