samajikkhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वभर महामारीको रुप लिएको नोभल कोरोना भाइरससँग जुध्‍न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरु एक हुनुपर्ने बताएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्र मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने प्रस्ताव गरेलगत्तै ओली त्रिवि शिक्षण अस्पतालबाटै ट्‍विट गर्दै यस्तो भनेका हुन्। 

समकक्षी प्रधानमन्त्री मोदीलाई ट्विटरबाटै जवाफ दिँदै ओलीले सार्क राष्ट्रका नागरिकलाई बचाउन मिलेर काम गर्नुपर्ने पनि बताएका छन्।

‘म प्रधानमन्त्री मोदीजीले राख्नु भएको विचार र प्रस्तावलाई स्वागत गर्दछु’, ओलीले भनेका छन्, ‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रको नेतृत्वले कडा रणनीति बनाउनु आवश्यक छ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार कोरोनाविरुद्ध सार्क राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गरेका छन्।

‘मेरो सरकार सार्क सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ’, उनले भनेका छन्, ‘हाम्रा नागरिकहरूलाई यस घातक रोगबाट जोगाउन हामीबीच सहकार्य हुनुपर्छ।’

samajikkhabar.com