samajikkhabar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने भएको छ।

आइतबार बसेको नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिए। 

‘सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनुभयो,’ श्रेष्ठले भने, ‘सोमबार नै प्रधानमन्त्री उपचारका लागि शिक्षण अस्पतालमा भर्ना हुनुहुन्छ।’

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि ९९ प्रतिशत तयारी पूरा भइसकेको अस्पतालका चिकित्सकहरूले बताएका छन्। 

प्रवक्ता श्रेष्ठले आजको सचिवालय बैठकले प्रधानमन्त्रीको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामनासमेत गरेको बताए।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका थिए। केही समयअघि उनको मिर्गौलाले काम गर्न छोडेको थियो। त्यसपछि उनले नियमित डायलासिस गरिरहेका थिए। 

प्रधानमन्त्री ओलीलाई एक जना महिलाले मिर्गौला दिने भएकी छन्।

त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार भान्जी नाता पर्ने महिलाले मिर्गौला दिन लागेका हुन्। गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन।

यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाता पर्ने अन्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। ओलीलाई मिर्गौला दिँदा घिमिरे २१ वर्षकी थिइन्।

अहिले मिर्गौला दिन लागेकी भान्जीको उमेर खुलाइएको छैन।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैछन्। आउने बुधबार उनको मिर्गौला प्रत्यारोपण हुने छ। यसबारे प्रधानमन्त्री ओलीले आइतबार बसेको नेकपा सचिवालय बैठकमा जानकारी गराएका थिए।

गत साता काठमाडौंमा भएको  कार्यक्रममा बोल्दै ओलीले आफू पाँच दिनमात्र अस्पतालमा बस्ने बताएका थिए।

‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए,‘अझै १०-१५ वर्ष मलाई केही हुन्न।’

उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७-१८ घन्टा काम गर्ने गरेको दाबी गरे।

‘म १७-१८ घन्टा काम गर्छु। बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने।

samajikkhabar.com