samajikkhabar.com

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोजेको आरोपमा चार जना पक्राउ परेका छन्।

नेकपा गण्डकी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न जाँदै गरेका प्रधानमन्त्री ओलीलाई पोखरा सभागृहको गेट नजिक समाजवादी विद्यार्थी युनियनले कालो झण्डा देखाउन खोजेको हो।

प्रहरीले समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई पक्राउ गरेको छ। उनीहरूले प्रधानमन्त्रीविरूद्ध नाराबाजी पनि गरेका थिए। 

सरकारका मन्त्री नै कमिसन मोलमोलाइ तथा भ्रष्टाचारमा संलग्न भएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।  

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष रूपनारायण श्रेष्ठले पक्राउ परेकाहरूलाई रिहा गर्न माग गरेका छन्। ‘पक्राउ परेका हाम्रा साथीहरूलाई तुरून्त रिहा गर्नुपर्छ,’ उनले भने, ‘यो सरकार एकपछि अर्को भ्रष्टाचार, अनियमितता काण्डमा फसेको छ।’

samajikkhabar.com