samajikkhabar.com

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भिम रावलले एमसिसीबारे जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावनी दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा नबोल्न नेताहरूलाई चेतावनी दिएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले केन्द्रीय समिटीको कार्यादेश विपरीत कसैले अन्यथा कुरा गरे त्यो औचित्यहीन हुने बताए । उनले केन्द्रीय समितिले दिएको अधिकारअनुसार आफूहरूले एमसिसी सम्झौता र योसँग जोडिएका विषयका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको बताए । 

नेता रावलले भने, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भिर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कसैले अन्य अर्थ लगाएर कुरा गरे भने त्यो औचित्यहीत हुन्छ ।’ कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिन आचारसंहिता बनाएको उनले बताए । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेशविपरीत अभिव्यक्ति दिए केन्द्रीय कार्य समितिको अपमान ठहरिने उनले उल्लेख गरे ।

नेता रावलले संसदमा प्रस्तुत भएकाबाहेक अन्य दर्जनभन्दा बढी सम्झौताहरू पनि कार्यदलले फेला पारेको बताएका छन् । अहिलेसम्म संसदमा प्रस्तुत भएको भन्दा बढी सम्झौता फेला परेको र अझै थप हुन सक्ने उनले बताए । कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ । उनले सम्झौताहरूको अध्ययन गर्नुपर्ने भएकाले समथ थप गरिएको भन्दै समयसीमाभित्र प्रतिवेदन तयार हुने विश्वास व्यक्त गरे । 

samajikkhabar.com