samajikkhabar.com

सिराहा , नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा सशस्त्र प्रहरीले सिरहाले दसगजामा बिजोर नम्बरका सीमा स्तम्भ ठडयाउन सुरु गरेको छ। आइतबारसम्ममा ५४ वटा सानो पिलरको काम सम्पन्न भएको छ।

सानो देखिएका, हराएका र भत्केका ठाउँमा सिरहा नगरपालिका १६ माडरबाट नयाँ पिलर राख्न सुरु गरिएको सशस्त्र प्रहरी सिरहाका एसपी प्रविण कडेँलले जानकारी दिए । उनका अनुसार नयाँ पिलर राखिएपछि विवाद हुने समस्या हटनेछ ।

३८८ वटा पिलरमध्ये समस्या देखिएका ठाउँमा नयाँ पिलर राखिने एसपी कडेँलले बताए । ‘सीमा सर्वेक्षण टोलीको उपस्थितिमा काम भइरहेको छ । निर्माण कार्य जारी छ,’उनले भने ।  

भारतीय सुरक्षाकर्मीको अवरोध

ठाडी भन्सार कार्यालय क्षेत्रअन्तर्गत पर्ने सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी जाँच चौकी राख्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको छ ।

भन्सार कार्यालयको दक्षिणतर्फ सीमा क्षेत्रमा अस्थायी जाँच चौकी राख्न खोजेको थियो । त्यहाँ भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले उक्त क्षेत्र दसगजा क्षेत्रमा पर्ने भन्दै जाँच चौकी राख्न दिएनन् । अहिले सशस्त्र र नेपाल प्रहरीको जाँच चौकी भन्सार कार्यालयदेखि उतरपटि छ । 

सुरक्षा र चेकजाँच कडाइ गर्न सीमा टाँसिएर अस्थायी चौकी राख्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध खडा गर्न खोजेका छन् । तर, भारतीय सुरक्षाकर्मीले दसगजामै चेक पोस्ट र कस्टम अफिस राखेका छन् । 

दुवै देशको सर्वेक्षण टोलीले नापी गरेपछि निर्माण फेरि सुरु गरिने सशस्त्र प्रहरीका एसपी कडेँलले जानकारी दिए । ‘भारतीय सुरक्षाकर्मीले दसगजामा परेको भन्दै नबनाउँन अनुरोध गरेका छन् । हामीले सर्वेक्षण टोलीले नाप गरेपछि निर्माण सुरु गर्छौ,’ उनले भने । रासस

samajikkhabar.com