samajikkhabar.com

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस् भन्ने चाहना भए पनि कोही फेला परेमा कारबाहीको भागीदार हुने बताउनुभएको हो ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीले १६ सिट जितेको र नेकपाले समर्थन गरेको दलले पनि २ सिटमा जित हात पारेको प्रशंग उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘यो जितलाई हामीले शिखरका रुपमा लिनुहुन्न । यसलाई प्रारम्भको रुपमा लिनुपर्छ । यो हाम्रो विकासको सिढीँ हो, शिखर होइन ।’

पार्टीको पाँचदिने बैठक उपलब्धिमूलक भएको उल्लेख गर्नुहुँदै आगामी बैठकहरुमा वैचारिक छलफललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भीर रहेको बताउनुभएको छ । चीनको प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफलहरु जारी रहेको उल्लेख गर्नुभयो । चीन सरकारले नेपाली विद्यार्थीहरुलाई सुरक्षीत ठाउँमा राखेको र उनीहरुलाई नेपाल फिर्ता गरेपछि सुरक्षीत रुपमा राख्ने ठाउँको खोजी भइरहेको उहाँले बताउनुभयो ।

samajikkhabar.com