samajikkhabar.com

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई भारतले मिचेको भूमि लिम्पियाधुरा-लिपुलेक र कालापानी समेटेर आधिकारिक नक्सा जारी गर्न निर्देशन दिएको छ। 

राष्ट्रिय सभागृहमा पाँच दिनदेखि जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन नेकपाले सरकारलाई यस्तो निर्देशन दिएको हो। नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता जाहेर गरेका छन्। 

अध्यक्ष दाहालले बैठकको अन्तिम दिन केन्द्रीय सदस्यहरुले उठाएका प्रश्‍नको जवाफ दिँदै भारतबाट अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरिने जनाएका हुन्।  भारतको अतिक्रमणमा परेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको करिब ३७ हजार हेक्टर नेपाली भूमि फिर्ता ल्याउन आवश्यक पहल भइरहेको सरकारले जनाएको छ।

भारतसँग सकारीस्तरबाट वार्ताको कोशिश भइरहेका बेला नेकपाले यस्तो निर्देशन दिएको हो। यसअघि नागरिकस्तरबाट लिम्पियाधुरा समेटिएको नक्सा सरकारलाई बुझाइएको छ। 

samajikkhabar.com