samajikkhabar.com

बुटवलः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोसेर अधिनायकवादको बाटोमा अगाडि बढेको बताए।

शनिबार रुपन्देहीको तिलोत्तमा पुगेका सभापति देउवाले प्रेश स्वतन्त्रता तथा मानवअधिकारमाथि नै प्रहार गरेर लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताएका हुन्।

दुई तिहाइको बलमा जनताको अधिकार खोसेर लोकतान्त्रको मूल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विभिन्न विधेयकहरू ल्याएको भन्दै उनले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रजातान्त्रिक शक्तिहरू एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारकाको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन रहेको बताए।

प्रेस स्वतन्त्रतामाथि आँच आउन नदिन संसदमार्फत कांग्रेसले निरन्तर खबरदारी गरिरहेको भन्दै देउवाले पत्रकारका जायज मागहरूको सम्बोधन गर्नु पर्नेमा जोड दिए। 

नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलका नेता स्व. बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुन्य तिथिमा तिलोत्तमा १४ मा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले पोखरेल जस्ता निष्ठावान् नेता कार्यकर्तालाई पार्टीले कुनै न कुनै रुपमा स्थान तथा सम्मान दिँदै जाने पनि बताए।

नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित शोक सभामा पार्टीका महामन्त्री शशांक कोइरालाले स्वर्गीय नेता पोखरेलले देखाएको निष्ठा र त्यागको राजनीतिलाई सबैले अनुसरण गर्न सके सच्चा श्रद्धाञ्जली हुने बताए।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले अहिलेसम्म अन्तरमनबाट लोकतान्त्रिक संविधानलाई नै स्वीकार गर्न नसकेको बताए।

दुई तिहाइको बलमा आफ्ना नेता कार्यकतालाई बलियो बनाउने काममा मात्रै सरकार लागेको भन्दै नेता खाँणले जनताको हितमा कुनै पनि काम गर्न नसकेको बताए।

जीवनको अन्तिम क्षणसम्म पनि देश र जनताका लागि लोकतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ भनेर लागि रहने स्व. नेता पोखरेलको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उनले बताए।

प्रतिनिधि सभाको लेखा समितिका सभापति भरत शाह, प्रतिनिधि सांसद प्रमोद यादव, कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पाल्पा सभापति तथा प्रदेश सभासद वीरबहादुर राना, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, प्रदेश सभाको संसदीय दलका उपनेता वीरेन्द्र कनौडीया, फणिन्द्र शर्मा, ईश्वरचन्द्र पोखरेल, रामकृष्ण खाँणलगायतका नेताले बोल्दै स्व. नेता पोखरेलको निधनले पार्टीले एउटा सच्चा र कर्तव्यनिष्ठ नेता गुमाएको बताए।

नेपाली कांग्रेसको प्रदेश ५ को संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा माघ ६ गते निधन भएको थियो।

samajikkhabar.com