samajikkhabar.com

काठमाण्डाै – मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाले बताएका छन् ।

शुक्रबार काठमाण्डाैमा भएको छलफलमा संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले एमसीसी परियोजनाबाट लाभ लिन कुनै शंका गर्नुनपर्ने बताउनुभयो । एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आएर कब्जा गर्ने परिस्थिति सिर्जना हुन्छ भन्ने कमजोर मानसिकता सामाजिक सञ्जालमा देखिएको उहाँको भनाइ छ ।

एमसीसीको विषय संसदमा गएको अवस्थामा बाहिर नेताहरुले हल्ला गर्नुको कुनै अर्थ नरहेको भन्दै उहाँले सच्याउनुपर्ने विषयहरु छन् भने कुटनीतिक तवरबाट छलफल गरेर सच्याउनु पर्ने बताउनुभयो । पूर्व राजदूत डा. शंकर शर्माले लिइरहेको र लिने सहयोग नेपालको पक्षमा छ भने केही गाह्रो नहुने बताउनुभयो ।

अमेरिकाले आर्थिक सहयोग पनि गर्ने, सुरक्षामा पनि सहयोग गर्ने, सरकारलाई पनि सहयोग गर्ने भनेपछि इण्डो प्यासिफिकको रिपोर्ट उल्लेख गरे पनि नेपालले सही नै नगरेको विषयमा जबर्जस्ती गर्न नआउने तर्क गर्नुभयो ।

साझा पार्टीका सूर्यराज आचार्यले नेपालीहरुको अकर्मण्यताले एमसीसीको विषयमा विवाद उत्पन्न भएको बताउनुभयो । नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले बाहिर आएजस्तो नेपाल आएर बेस बनाउने हो कि, नेपालमै बस्ने हो कि भन्ने आशंकाहरु सही नभएको बताउनुभयो ।

एमसीसी परियोजनामा नेपालले हस्ताक्षर गरेसँगै यो विषयमा राजनीतिक र सामाजिक बहस सुरु भएको छ ।

samajikkhabar.com