samajikkhabar.com

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संवैधानिक हकविरुद्ध भएको बताएका छन् । उनले विधेयक संसदबाट जस्ताको तस्तै पारित भए नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिने बताउँदै सरकारका अरिङ्गालबाहेक कोही बाँकी नरहने टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले विधेयक जस्ताको तस्तै पारित भए सरकाकार अरिङ्गालबाहेक कोही पनि बाँकी नरहने बताए ।

उनले भने, ‘सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन् ।’

उनले सूचना प्रविधि विधेयका विषयमा कडा कटाक्ष गर्दै भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन्। अरु सबै सकिन्छन्।’

उनले विधेयक संसदीय समितिबाट पारित भएसँगै सामाजिक सञ्जालमा विरोध जनाउँदै आएका छन् ।

विधेयक संसदीय समितिबाट पारित भए पनि संसदबाट यही स्वरुपमा पारित हुन नदिन कडा आन्दोलन गर्ने उनले बताए । विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गर्न खोजेको बताउँदै यसकाविरुद्ध सबै तह र तप्काबाट सहयोग गर्न समेत उनले आग्रह गरेका थिए ।

samajikkhabar.com