samajikkhabar.com

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतरका बहुमत जिल्ला सभापति पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले गरेको गुट भेलामा ४५ जिल्ला सभापति उपस्थित छन्।

सोमबार दिउँसो १ बजेदेखि भेला जारी छ।

बैठकको सुरूमै वरिष्ठ नेता रामचन्द्र पौडेल बोलेका छन्।

उनले पार्टी सभापति देउवाले गत पुस ११ गते गरेका निर्णय सच्याउनुपर्ने धारणा राखे।

‘विवादित विषयमा सहमति बनिसकेको थियो। एकाएक एकलौटी ढंगले सभापतिजी बहुमतको आधारमा अघि बढ्नुभयो। पार्टीकै इतिहासमा पहिलोपटक बहुमतले महाधिवेशनको मिति घोषणा गर्ने काम भयो। महासमिति बैठकले सर्वसम्मत पास गरेका विधानका धारा केन्द्रीय समितिले बहुमतका आधारमा पास गरियो। यो विधिसम्मत छैन, सच्याउनुपर्छ,’ पौडेलले बैठकमा भने।

महामन्त्री शशांक कोइराला, पौडेका तर्फबाट वार्ता टोली संयोजक समेत रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सुरूमै धारणा राखेका थिए।

सभापति देउवा पेलेरै अघि बढ्ने मनस्थितिमा रहेकोले जसरी पनि पुस ११ गते गरेका निर्णय सच्याउन दबाब दिनुपर्ने उनीहरूको भनाइ थियो।

नेताहरूले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेपछि जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्न सुरू गरेका छन्।

रोल्पाका सभापति अम्बरसिंह पुनले पार्टी विधिसम्मत चल्नुपर्ने बताए। ‘कसैले कब्जा गर्ने शैलीबाट पार्टी चल्न हुँदैन। एक वर्षअघि (पुस ८) मा सकिएको महासमिति बैठकले सर्वसम्मत पास गरेका विधानका धारा कार्यान्वयन नहुँदै निलम्बन गरिएको छ, यो हामीलाई स्वीकार्य हुन्न,’ उनले भने।

महासमितिमा छलफल गरी पास गरेको विधानका धारा निलम्बन गर्ने अधिकार केन्द्रीय समितिलाई नहुने उनले बताए।

कांग्रेसमा विधि विधान बनाउने वा हेरफेर गर्ने अधिकार महाधिवेशन र महासमिति बैठकले गर्न सक्छ।

उनले जिल्ला सभापतिहरूको भेला गुट बैठक नभएको पनि दाबी गरे।

‘यो गुट बैठकको रूपमा बुझ्नु हुन्न। विधिसम्मत तरिकाले नेतृत्व चल्नुपर्छ भन्ने हाम्रो माग हो, त्यसैका लागि दबाब दिन हामी यहाँसम्म आएका हौं,’ उनले भने।

धादिङका सभापति रमेश धमला पनि महासमितिले बनाएको विधान केन्द्रीय समितिले निलम्बन गर्न नमिल्ने बताउँछन्।

‘यदि विधानका धारा निलम्बन नै गर्नुपर्ने थियो भने महासमिति बैठक बोलाउन सकिन्थ्यो, अधिकार नै नभएको केन्द्रीय समितिले बहुमतको आधारमा विधानको धारा निलम्बन गर्ने?,’ उनले प्रश्न गरे।

उनले पार्टीलाई बलियो बनाउन र नेतृत्वलाई सच्चिन दबाब दिन दुई दिने भेला आयोजना भएअनुसार आफू बैठकमा सहभागी भएको बताए। ‘कांग्रेस नेतृत्व निरंकुशतर्फ जाने हो कि भन्ने त्रास छ। बेलैमा सच्चिन दबाब दिनुपर्छ,’ धमलाले भने।

उनले पार्टी नेतृत्वप्रति आफूहरू कटाक्ष गर्ने पक्षमा नरहेको पनि बताए।

‘नेतृत्वको कटाक्ष गर्न होइन पार्टीको भविष्य सुन्दर बनाउन यो भेला गरिएको हो,’ उनले पत्रकारहरूसँग भने, ‘कसैले यो हार्नेहरूको भेला हो भनेर इन्कार गर्न मिल्दैन। यो पार्टी बलियो बनाउनुपर्छ, विधानअनुसार हिँडाउनुपर्छ भन्ने चाहनेहरूको भेला हो।’

उनले गत पुस ११ गते बहुमतका आधारमा १४ औं महाधिवेशन कार्यतालिका घोषणा गर्ने, देउवा नेतृत्वको कार्यसमितिको म्याद ०७७ फागुन १९ सम्म थप गर्ने र विधानविपरीत विभाग संख्या ४७ पुर्‍याउने निर्णय फिर्ता गर्नुपर्ने आफूहरूको बटमलाइन रहेको जानकारी दिए।

बैठकमा उपत्यकाभित्रका काठमाडौं जिल्ला सभापति मात्रै उपस्थित छन्।

बैठकमा पूर्वमहामन्त्री सिटौला समूहबाट पाँच जिल्ला सभापति सहभागी छन्।

कालिकोट सभापति हर्ष बम, सिन्धुपाल्चोक सभापति विकास लामा, झापा सभापति उद्धव थापा, ताप्लेजुङ सभापति लिला बोझिम र संखुवासभा सभापति दिपनकुमार श्रेष्ठ बैठकमा आएका हुन्।

सिटौला भने भेलामा सहभागी छैनन्। तर उनी पक्षका केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेल उपस्थित छन्।

पौडेल पक्षबाट महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, अर्जुननरसिंह केसी, रामशरण महत सहभागी छन्।

भेला मंगलबारसम्म चल्नेछ।

samajikkhabar.com