samajikkhabar.com
दशैँमा नयाँ नोट

दशैेंमा नयाँ नोट वितरण बन्द गर्ने योजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दशैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दशैमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिंदा देशलाई नै ठूलो धनराशी क्षति हुने गरेकोे भन्दै बन्द गर्ने योजना बनाइएको बताए । वर्षमा ३ अर्ब भन्दा बढी नोट छपाईमै खर्च हुने गरेको प्रवक्ता निरौलाले जानकारी दिए ।

‘दशैंमा अविर लगाउने, भिजाउने जस्ता कामले नोट विग्रने गरेका छन्, हामी चाहन्छौँ मुलुकलाई ठूलो नोक्शानी नहोस्’ मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत रहेका निरौलाले भने, ‘यसलाई रोक्नु पर्छ भन्ने हाम्रो योजना हो ।’हिन्दु धर्मका यस्ता चाडपर्वमा नोटको नास हुने गरेको भन्दै राष्ट्र बैंकले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अधिकारीहरूसँग छलफल समेत गरेको छ ।

समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले नोटको आयु बढाउने कुरामा समितिको सहयोग हुने बताएका छन् । यसका लागि राष्ट्र बैंकले स्पष्ट योजना ल्याउनु पर्ने उनले बताए । ‘राष्ट्र बैंक पनि सरकारकै एउटा स्वायत्त निकाय हो हामी सरकारकै एउटा समिति हौं, यसकारण राष्ट्र बैंकको योजना हामी स्वीकार्छौं’ उनले भने, ‘यसका लागि कडा कानूनको आवश्यकता छ, राष्ट्र बैंकले पुराना नोट सटहीमा पनि कडाइ गर्नु पर्छ ।’

samajikkhabar.com