samajikkhabar.com
चितवन मेडिकल कलेज

चितवन मेडिकल कलेजले विद्यार्थीबाट असुल गरेको अबैध शुल्कको रसिद दिने बताएको छ । विगत १६ दिनदेखि अबैध शुल्क तत्काल फिर्ता हुनु पर्ने मागसहित विद्यार्थीहरु आन्दोलित छन् । (बुधवार) पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल प्रशासनले विद्यार्थीबाट लिएको शुल्कको रसिद दिने बताएको हो ।

कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले केही विद्यार्थीलाई रसिद दिएको र केहीलाई दिन बाँकी रहेको जिकिर गरे । ‘रसिद लिएका विद्यार्थी पनि छन्, नलिएका विद्यार्थी पनि छन्’, उनले भने ‘रसिद लिन आउनेलाई अहिलेपनि हामी दिन सक्छौं ।’ यसअघि विद्यार्थीबाट शुल्क लिने बेलामा कम्युटरमा समस्या आएको देवकोटाले बताए ।

विद्यार्थीहरुले मंगलबार मात्रै पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलन थप चर्काउने चेतावनी दिएपछि कलेज प्रशासनले केही लचकता अपनाउने देखिएको हो । आँफूमाथि भएको दमनको विषयमा विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलन गर्दा प्रशासनले प्रहरी परिचालन गरेर विद्यार्थी माथि लाठी चार्ज गर्दै आएको थियो ।

विद्यार्थीसँग टेवलमूनीबाट पैसा किन लिनुभयो ? भन्ने पत्रकारको जिज्ञासामा उनीहरु केही बोल्न चाहेनन् । ‘आइओएमको पत्र अनुसार शुल्क लिएका छौं, अन्य अबैध शुल्क लिएका छैनौं ।’ प्रमुख प्रशासक देवकोटाले भने ।

‘एमबीबीएसको शुल्क विवादमै छ’, देवकोटाले भने, ‘चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गरिएको छ ।’ उनले आन्दोलन राजनैतिक अभिष्ट पूरा गर्ने र राजनैतिक रुपमा स्थापित हुन भर्‍याङ बनाउने र नितान्त दुःख दिने हिसाबले गरिएको बताए । विप्लवका छोरा प्रकाशलाई लक्षित गर्दे उनले भने, ‘देशभर थुप्रै मेडिकल कलेज छन् चितवन मेडिकल केलजमा मात्र आन्दोलन किन ?’

देवकोटाले प्रदर्शनका क्रममा विद्यार्थीलाई लाठीचार्ज गर्न कलेजले कुनै निर्देशन नदिएको भन्दै प्रहरी प्रशासनले आफै बल प्रयोग गरेको दाबी गरे । उनले विद्यार्थीलाई निरन्तर वार्ताका लागि आह्वान गरेको र कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेबाट वार्ताका लागि अधिकार दिएका व्यक्तिहरु आफूहरु नै भएको जिकिर गरे ।

कलेजले विद्यार्थी र अभिभावकलाई कुनै किसिमको मानसिक तनाव नदिएको दाबी गरेको छ । कलेजकी प्रिन्सिपल ममता तिवारीले आन्दोलन गरेकै नाममा फेल गराउने धम्की नदिएको बताइन् ।

samajikkhabar.com