samajikkhabar.com
मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गर्न प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका बीचमा समानता (सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै) सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गर्न प्रस्ताव राख्नुभएको छ । बुधबार काठमाडौंमा आयोजना गरेको एक विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो प्रस्ताव राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधान–२०७२ जारी भएको चार वर्ष पूरा भएर पाँचौं वर्ष प्रवेश गर्न लागेको यस अवसरमा म राजनीतिक दल, नागरिक समाज, र आम जनता समक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट एउटा गम्भीर प्रस्ताव राख्न चाहन्छु, १३ वर्षको राजनीतिक अभ्यास र चार वर्षको संवैधानिक अनुभवलाई दृष्टिगत गर्दै सबै धर्मका बीचमा समानता, सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ गरौं । र, राष्ट्रिय सहमति कायम गरी अघि बढौं भन्ने प्रस्ताव म राजनीतिक दल, नागरिक समाज र आम नागरिक जनतासमक्ष राख्न चाहन्छु ।’

संविधान जारी भएर नयाँ संविधान बमोजिम करीब दुई तिहाई बुहमतको सरकार गठन भैसकेका दुई वर्ष पुग्न लाग्दा पनि आम जनताले सकारात्मक परिवर्तनको अनुभति गर्न नपाएको अध्यक्ष थापाको भनाइ छ । आयोजित उक्त साक्षात्कारमा बोल्दै उहाँले भ्रष्टाचार, बेरोजगारीको समस्या, गरिबी, धर्म परिवर्तन, सर्वसत्तावादका प्रारम्भिक संकेत, राष्ट्रिय अखण्डता माथिको चुनौती र माओवादीको पुनरुत्थान जस्ता समस्याहरु हाल मुलुक सामु देखा परेको पनि टिप्पणी गर्नुभयो ।

राजनीति, प्रशासनिक र व्यापारिक क्षेत्र भ्रष्ट भएको बेलामा न्यायिक क्षेत्रबाट न्याय पाउने र राष्ट्रहितको पक्षमा ऐतिहासिक फैसला आउने आशा र अपेक्षा गरिएपनि त्यसो नभएकोमा उहाँले गुनासो पाख्नुभयोे । उहाँले भन्नुभयो, ‘वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कार्यभार सम्हाल्नु भएपछि उहाँमाथि धेरैको आशा र विश्वास थियो । उहाँका केही निर्णयहरुले जनतामा ठूलो आशा पैदा गरिदिएको थियो । तर, पछिल्लो फैसला विवादस्पद भएको छ । अब राज्यका प्रमुख संयन्त्रहरु कार्यपालिका र न्यायापालिकाबाट न्याय नपाएको बेलामा, भ्रष्टाचार विरुद्ध कार्यान्वयन नभएको बेलामा अब एउटा झिनो आशा संसदमाथि छ ।’

संसदले ईमानदारीपूर्वक काम गर्ने हो भने अझैपनि देशलाई ४० अर्ब घाटा हुनबाट जोगाउन सक्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘संसदले ईमानदारीपूर्वक काम गर्ने हो भने भ्रष्टाचारीलाई कठघारमा उभ्याउन सक्दछ । कति दृढताका साथ उभिन्छ ? त्यो त हेर्न बाँकी छ ।’

अध्यक्ष थापाले सबैतिरबाट निराशा भैसकेको अवस्थामा अब जनताको अगाडि जानुबाहेक आफूहरुसँग कुनै विकल्प नरहेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘राप्रपााले सदन र सडकमा एनसेल काण्डदेखि अन्य भ्रष्टाचारका विषयलाई सशक्त ढंगबाट उठाउने निर्णय गरेको छ ।’ राप्रपाले विजया दशमी पछि सडकदेखि सदनसम्म भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने उहाँले जानकारी दिनुभयो ।

samajikkhabar.com