samajikkhabar.com
kpoli

प्रधानमन्त्री केपी शर्मा ओलीले अब विधेयक ल्याउँदा दलहरुबीच छलफल गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेतासँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन्। ओलीले देउवासँग हरेक विधेयक ल्याउँदा दलहरूसँग परामर्श गर्ने प्रतिबद्धता जनाएका हुन्। यस बीच पार्टी एकतामा आफूले बढ्ता ध्यानदिनुपर्ने भएका कारण दलहरू बीच भेटघाट पातलिएको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बाँके घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘घटनाका दोषीलाई कारवाही हुन्छ । यसका लागि हामी मानसिक रूपमा तयार छौँ’, ओलीले भने, ‘पीडित पक्षको जाहेरी प्रशासनले लिन्छ । सदनका गतिविधि सुचारु हुन दिनुहोस् ।’

‘सत्तापक्षले जनतामा निराशा जगाउने काम मात्रै गर्‍यो’, प्रधानमन्त्री समक्ष सभापति देउवाले भने, ‘यसले सबै राजनीतिक दललाई नकारात्मक प्रभाव पार्छ। व्यवस्था माथि पनि खतरा पैदा गर्छ।’ सर्वसाधारण र प्रेसका अधिकार कुण्ठित गर्ने गरी विधेयक ल्याइएकामा उनले सरकारको कडा आलोचना गरेका थिए। भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार लगायत विधेयक संविधानको मर्म अनुसार नभएको उनको भनाइ थियो।

कांग्रेसका नेताले जागरण अभियानका क्रममा नेकपा नेताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको विषयलाई पनि गम्भीरता पूर्वक उठाएका थिए। प्रधानमन्त्रीसँग समय मागेर बालुवाटार पुगेका उनीहरूले घटनाका दोषीलाई कारबाहीको माग गरे। कांग्रेसले संविधानको मर्मअनुसार प्रदेश सरकारले काम गर्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

samajikkhabar.com