samajikkhabar.com
bridge mustang

भदौ १ गते उद्घाटन तय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट स्थित छुसाङ–चैले पक्की मोटरेबल पुल कालिगण्डकी नदीले भत्काएको छ। पुल भत्किँदा उद्घाटन रोकिएको छ।

शुक्रवार राति कालिगण्डकी नदीको पानीको बहाव उच्च हुँदा बन्दै गरेको पुलको माटो फिलिङ गरिएको ट्र्याकमा क्षति पुगेको हो।

नदीले पुलको एप्रोज स्लाप जोड्ने वायाँतर्फको बिम नजिकको माटो खोतल्दै गएपछि क्षति पुगेको हो। करिडोरका इन्जिनियर अश्विनीकुमार यादवले भने, ‘पुल जोड्ने एप्रोज सडकमा व्यवस्थित रुपमा ग्याबिन लगाएर माटो फिलिङ गर्न पाएनौँ। बर्खाले नदीको बाहव उच्च भयो। काम चलाउ मात्रै गर्‍यौँ। त्यसैमा नदी कटान भयो।’

इन्जिनीयर यादवले केही दिनमै नदी डाईभर्सन गरी पुलको काम सम्पन्न गर्ने जानकारी दिए। नदीले क्षति गराएको स्थानमा पुनः काम गर्न करिडोरले ३ वटा डोजर परिचालन गरेर काम गर्दै आइरहेको उनले उल्लेख गरे।

उपल्लो मुस्ताङ तथा कोरलानाका जोड्ने उक्त महत्वपूर्ण पक्की पुल लोकल रोड ब्रिज प्रोग्राम एलआरबीपीले २०७१ सालमा सुरु गरेको हो। ४ करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाई ७६ मिटरको छ। जम्मा ५।५ मिटर चौडा सिङ्गल लेनको पुल सम्झौता अवधि ३ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको थिएन।

samajikkhabar.com