samajikkhabar.com

काभ्रे : काभ्रेको धुलिखेलमा बागमती प्रदेश सरकारले प्रादेशिक स्तरको जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ। शनिबार स्थापना गरिएको प्रयोगशालामा बागमती प्रदेशको ६ जिल्लाको कोरोना परीक्षण गर्ने जनाएको छ।

बागमती प्रदेशको पहिलो चरणमा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाका नागरिकहरुको कोरोना सम्बन्धी परीक्षण हुने प्रदेश सरकारले जनाएको छ। जनस्वास्थ्य प्रयोगशालामा दैनिक एक हजार स्वाब परीक्षण गर्न सक्ने क्षमताको प्रयोगशाला स्थापना भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए। काभ्रेका राखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट अब केहि दिनमै कोरोनाको परीक्षण सुरु गरिने डा. झाले जानकारी दिए। 

उक्त जनस्वास्थ्य प्रयोगशालाको स्थापना कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाल सरदले कोरोना महामारी बढिरहेका बेला कोरोनासँगै अन्य प्रकारका रोगहरुको पहिचान र परीक्षण गर्ने उद्देश्यले प्रादेशिक प्रयोगशाला काभ्रेको धुलिखेलमा स्थापना गरिएको बताए। प्रयोगशालामा कोरोना परीक्षण लगायत पहिचान गर्न नसकेका जटिल प्रकारका रोगहरु समेत यो प्रयोगशालामा परिक्षण हुने र कोरोनाको परीक्षणसँगै अन्य रोगहरुको पहिचान र परीक्षणले नागरिकहरुलाई थप सहज हुनेमा मन्त्री दुलालले जोड् दिए।

बागमती प्रदेश सरकारको राजधानी मकवानपुरको हेटौडामा भएपनि काभ्रे तथा आसपासका जिल्लाहरुमा सेवा कार्यालयहरु स्थापना गर्ने सरकारको नीति अनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको मन्त्री दुलालले बताए। बागमती प्रदेश सरकारले धुलिखेलमा प्रयोगशाला स्थापना गरेपछि थप सहज भएको छ। यस अघि धुलिखेल अस्पतालमा कोरोनाको पीसीआर परीक्षण भएपनि जिल्लामा प्रयोगशालाको स्थापनापछि कोरोना परीक्षणको रिर्पोट पाउन थप सहज हुनेछ। 

samajikkhabar.com