काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको एघारौं दिन पुगेको छ । तर, ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा जाँदै छ ।

माकाजुसँगै डा. विष्णुप्रसाद पाण्डे, डा. संगीता शाक्य र सुनन्दा शर्मा आइतबार कोरिया जान लागेका हुन् । यसैगरी डा. दीपकप्रसाद सुवेदी, डा. विराजमान कर्माचार्य, शैलेन्द्र कुमार झा, सरोजप्रसाद श्रेष्ठ, बिजेन्द्र श्रेष्ठ र डेजिना श्रेष्ठ भने शनिबार नै कोरिया गइसकेका छन् । माकाजुसहितको टोली भदौ ५ गते र सुवेदीसहितको टोली भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
तालाबन्दी खुलाउन पहल नगरी विदेश भ्रमणमा व्यस्त भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले विरोध गरेका छन् । विश्वविद्यालयका एक कर्मचारीले भने, ‘ठूलो कार्यक्रम पनि होइन, केही विश्वविद्यालयको अवलोकन गर्नेमात्र हो, तर पनि तालाबन्दी खुलाउन पहल नगरी केही विभागीय प्रमुखहरुसहित विदेश यात्रामा जाँदै हुनुहुन्छ ।’
आन्दोलनरत प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरुको छिटो छानविन गर्नुपर्ने, विश्वविद्यालयमा कार्यकारी परिसदमा रिक्त शिक्षक प्रतिनिधिमा प्राध्यापकहरुले सिफारिस गरेको व्यक्ति नियुक्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।