samajikkhabar.com

काठमाडौं : संविधान दिवसको अवसरमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिबार बिहान सभापति देउवाले संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारलाई आग्रह गरेका छन् ।

‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ,’ सभापति देउवाले शुभकामना सन्देशमा लेखेका छन् ।

साथै उनले संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप लगाएका छन् ।

यसलाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

samajikkhabar.com